२६ कात्तिक, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीमा आज अपराह्न यात्रु बस र इन्धन बोकेको ट्यांकर ठोकिँदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वतर्फ जाँदै गरेको ना २ ख ४२२६ नं को बस र विपरीत दिशातर्फ आउँदै गरेको तेल बोकेको ना ७ ख २२०० नं को ट्यांकर १२.१० बजे ठोकिएका हुन् ।

घटनामा बस चालक राप्ती नगरपालिका–७ का २५ वर्षीय राजकुमार तामाङसहित १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये ११ जनाको चितवन मेडिकल कलेज तथा तीन जनाको पुरानो मेडिकल कलेज र एक जनाको सेन्ट्रल अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चालकसहित तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्यांकर चालक भने फरार छन् ।