४ असार, बाँके ।

सामान्य विवादले उग्र रुप लिएपछि नेपालगञ्जमा तनाव भएको छ । मनोनयन दर्ता गराएर फर्किने क्रममा भएको सामान्य विवाद चर्किदै गएपछि बाँकेको बैजनाथ गाउँपालिकामा एमाले र माओवादीबीच झडप भएको छ ।

मनोनयनका लागि नाचगान गर्दै आएका माओवादी कार्यकर्ताले एमालेले गरिरहेको कार्यक्रम नजिक आएर भाषण गर्न थालेपछि विवाद भएको प्रहरीको भनाई छ । त्यही विवादपछि दुवै पक्ष ढुंगा हानाहानमा उत्रेका थिए ।

ढुंगाले लागेर २ जना घाइते भएका छन् । प्रहरी नायव निरीक्षक विश्वजीत गौतम र अर्का एकजना घाइते भएका प्रहरीले जनाएको छ । उनीहरु दुवैको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रु ग्यास र २० राउन्ड हवाई फायर गरेको छ । सहमतिका लागि अहिले दुबै पक्षलाई राखेर मिलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।