८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको विरुवा माओवादीले नै रोपेको भन्दै त्यसको फल उपभोग गर्ने अधिकार आफूले पाउनुपर्ने बताएका छन् ।

बाँकेको खजुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले त्यसैले आफ्नो पार्टीलाई भोट दिन मतदातालाई आग्रह गरे । उनले हिमाल, पहाड र तराईको एकताले मात्रै नेपालको राष्ट्रियता बलियो हुने बताए ।

प्रचण्डले बाँके जिल्ला मधेसि, मुस्लिम, पहाडेहरुको सुन्दर संगम रहेको उल्लेख गर्दै यस्तो बसोबासगत र भावनात्मक एकताले सिंगो नेपालको राष्ट्रिय एकता बलियो र समृद्ध बनाउने बताए ।

अब स्थानीय स्तरमा अधिकार आइसकेको भन्दै प्रचण्डले पहिलो चरणको चुनाव सफल भइसकेको र दोस्रो तथा तेस्रो चुनाव पनि नागरिकको अत्याधिक सहभागितमा सफल हुने विश्वास ब्यक्त गरे ।