४ भदौ, पथरी (मोरङ) । एक हप्ताअघि परेको लगातारको वर्षासँगै आएको बाढी मोरङका माछापालक किसानको पोखरीमा पसेपछि १९ करोड मूल्य बराबरको माछा बगाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मोरङका विभिन्न स्थानमा सञ्चालन भएका पोखरीमा बाढी पस्दा उक्त क्षति भएको उक्त परियोजना कार्यान्वयन इकाइ प्रमुख प्रमोद रिजालले जानकारी दिए ।

रिजालका अनुसार निर्माण गरिएको पोखरी, उत्पादन गरिएका भुरा, बिक्री गर्ने तयारी गरिएका माछा बगाउँदा १९ करोड मूल्य बराबरको क्षति भएको हो । मोरङको रंगेली नगरपालिका क्षेत्रका पोखरीमा कृषकले पालेको माछा पोखरीमा पानी थपिएपछि माछा बगेका हुन् । रंगेलीका पोखरीबाट १२ करोड मूल्य बराबरको माछा र पोखरीमा क्षति पुगेको छ ।

कटहरी गाउँपालिकामा सञ्चालित परियोजनामा तीन करोड, धनपालथान गाउँपालिकामा दुई करोड ५० लाख र पथरी शनिश्चरे नगरपालिकामा ५० लाख बराबरको माछामा क्षति पुगेको परियोजना प्रमुख रिजालको भनाइ छ । रासस