२९ साउन, बारा ।

अविरल बर्षापछि आएको बाढीले पुल र सडक भत्केपछि बारास्थित पुर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा हिजो रातिदेखि यातायात सेवा अवरुद्ध बनेको छ ।

तीन दिनदेखिको अविरल बर्षाले बारा र रौतहतको सिमामा पर्ने धन्सार, पथलैया निजगढ खण्डको दुधौरा, अमलेखगंजको ३ नम्बर र बडाहाकिम पुल र सडक भत्केपछि यातायात अवरुद्ध बनेको मध्ये क्षेत्रीय ट्राफिक कार्यालय पथलैयाका प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले जानकारी दिए ।

मैनालीले पुल र सडक मर्मत गरेर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको बताए । धन्सार नदीमा आएको बाढीले नदीको पश्चिम छेउ कटान गरेपछि राति १२ बजेदेखि यातायात अवरुद्ध बनेको हो ।

६ बर्षअघि निर्माण भएको पुल नजिकै उत्तरतर्फ रहेको पुरानो पुलको साइफनमा रुख अड्किएर थुनिएपछि बाढीले नयाँ पुल जोडने सडकको अधिकांश भाग भत्काएको हो ।

त्यसैगरी शनिबार रातिको बाढीले पथलैया निजगढ खण्डको दुधौरा पुलको एउटा पियर भासिएपछि प्रहरीले आवागमनमा रोक लगाएको छ ।

अमलेखगंजस्थित हाकिम खोलाको पुलको मुखमा पहिरो खसेपछि राति १२ बजेदेखि नै अवरुद्ध बनेको र सडक सडक डिभिजन कार्यालय हेटौडाले पन्छाउने कार्य गरिरहेको छ । निजगढ ३ मा पनि बगरे खोला बाढीले पाइप बगाएपछि खानेपानीको अभाव भएको छ ।