२ भदौ, काठमाडौं ।

सरकारले तराईका बाढीपीडितलाई प्रतिदिन ७० रुपैयाँका दरले एक महिनासम्म खाना खर्च उपलब्ध गराउने भएको छ ।

गृहमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत् बाढीपीडितलाई प्रतिदिन ७० रुपैयाँको दरमा खाना खर्च दिलाइने जानकारी दिए ।

रकम कति पीडितलाई वितरण गर्ने भन्ने प्रस्ट नभएपनि उनले अब सीडीयोले छिट्टै राहत रकम बाँड्ने बताए । त्यस्तै गृहमन्त्री शर्माले बाढी र डुबानबाट क्षति भएका सार्वजनिक, निजी भौतिक संरचनाको पुनर्निर्माण तत्काल थालिने पनि जानकारी दिएका छन् ।

पीडितलाई राहत दिन रकम अभाव रहेको बताउँदै उनले सहायताका लागि अन्तराष्ट्रिय समुदायसँग आह्वान समेत गरे । गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न अभाव रहेकोले त्यहाँ खाद्य संस्थानमार्फत् अस्थायी डिपो खुलाउने जानकारी दिए ।

अविरल वर्षापछि आएको बाढी र पहिरोले झन्डै ३० जिल्लामा प्रभावित पारेको थियो भने सय भन्दा बढिको मृत्यु भएको छ ।