१ असोज, काठमाडौं ।

निर्वाचन आयोगले मधेसमा हालै गएको भीषण बाढी, डुबान र कटानले दिएको दुःखलाई विर्सेर एक दिन राष्ट्रका लागि दिन मतदातासँग आब्हान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आज पत्रकार सम्मेलन गरी सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरेर मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन अपिल गरेका छन् ।

त्यस क्षेत्रका अधिकांश बासिन्दा कष्टकर जीवन बिताउन बाध्य हुनुपरेको अवस्थामा हुने निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको सेवालाई नै सर्वोपरि राखेर काम गर्ने आयोगको अपेक्षा छ ।

आयोगले त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको समस्त मतदाता, आम जनता, राजनीतिक दल र सरोकारवालाहरूलाई जानकारी गराएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका ८ जिल्लाका १३६ वटा स्थानीय तहमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने बताएको छ ।

प्रदेश नम्बर दुईमा हुने स्थानीय तह निर्वाचनमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । यो निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् ।

निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत प्रदान गर्न सबै मतदातासँग आयोगले अपिल गरेको छ ।
साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराइएको आयोगको भनाई छ ।