१३ मंसिर, एजेन्सी ।

राष्ट्रसंघका महासचिव बान कि मुनले चीनको प्रशंसा गरेका छन् । जलवायु परिवर्तनको असर कम गर्न चीनले रचनात्मक भूमिका खेलेको भन्दै बान कि मुनले चीनको प्रशंसा गरेका हुन् ।

चीनको राष्ट्रिय समाचार समिति सिन्हुवालाई दिएको विशेष अन्तर्वार्तामा बान कि मुनले दक्षिण-दक्षिण सहयोगलाई अगाडी बढाएर चीनले अत्यन्तै राम्रो भूमिका निभाइरहेको भन्दै प्रशंसा गरेका हुन् ।

ban-ki-moon

आगामी डिसेम्बरमा फ्रान्सको पेरिसमा हुने जलवायु सम्मेलनमा कानूनीरुपमा बाध्यकारी नियमन सहितको प्रस्ताव पारित हुनेमा विश्वास ब्यक्त गर्दै मुनले चीनको जलवायु परिवर्तन सम्बन्धी नीति सकारात्मक रहेको र जलवायु परिवर्तनका असर टार्न चीनले महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

गत सेप्टेम्बरमा अमेरिका भ्रमणका क्रममा चीनका राष्ट्रपति शी जिन पिङले अमेरिकी राष्ट्रपति बराक ओबामासँग संयुक्त वक्त्ब्य जारी गर्दै पेरिस सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित गराउन भूमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।