काठमाडौं ।

नयाँ शक्ति पार्टीका पूर्व केन्द्रीय परिषद् सदस्य निर्मल भट्राईले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग पार्टी विलय हुने कुराको विरोध गरेकाले आफूहरुलाई पार्टीबाट निष्कासन गरिएको बताएका छन् ।

पार्टी हित विपरित काम गरेको भन्दै नयाँ शक्ति पार्टीले भट्टराई सहित चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टीबाट निष्कासन गरेको थियो ।

९, १० महिनामा नयाँ शक्ति सकिने देखियो

‘निर्वाचन आयोगले निर्वाचन चिन्ह नदिएपछि उपेन्द्र यादवको संघीय समाजवादी फोरमसँग एकता गरेर चुनाव लड्ने तयारी भइरहेको थियो, पार्टीबाट निष्कासन भएपछि नेपाली हेडलाइन्ससँग कुरा गर्दै भट्टराईले भने, ‘हामीले त्यसो गर्दा पार्टीको अस्तित्व नै समाप्त हुने भन्दै विरोध गरेपछि हामीलाई हटाएर बाटो ‘क्लियर’ गरेका हुन् ।’

नयाँ शक्तिमा स्वतन्त्र रुपमा चुनाव लड्ने हैसियत कसैको नभएकोले पनि बाबुरामहरु आत्तिएको उनको भनाई थियो ।

उपेन्द्रसँग मिल्न नहुने पक्षका हाम्रो बहुमत देखेपछि बाबुराम अत्तालिएको निर्मलले बताए । ‘सबैभन्दा बढी विरोध गर्ने हामी ९ जना थियौं, निर्मलले भने, ‘जिल्ला तहमा त हाम्रो पक्षका धेरैलाई कारवाही गरिसकेका छन्, केन्द्रीय तहमा शुरुमा हामी चार जनालाई कारवाही गरियो ।’

फर्केर त्वम शरणम गर्न आउँछन् कि भनेर अरु पाँच जनालाई कारावही गर्ने आँट गरेका छैनन् ।

निर्मलले आफूहरुको पक्षमा केन्द्रीय तहका बेद लिम्बु , मुनिन्द्र बस्नेत, अशोक ढुंगेल, सहदेव न्यौपाने र युवि घिमिरे रहेको दावी गरेका छन् ।

समस्या बाबुराम नै हुन्

निर्मल भट्टराईले नयाँ शक्तिमा ठूलो समस्या पार्टी संयोजक बाबुराम भट्टराई नै भएको आरोप लगाएका छन् । निर्मलका अनुसार मधेस केन्द्रीत दल र जनतालाई उकासेर अस्थिरता कायम गरी शक्ति आर्जन गर्ने सोचमा बाबुराम छन् ।

माओवादीमा हुँदाको जस्तो जनताको हितमा काम गर्ने सोच र जनताको विश्वास अव उनमा नरहेको आफूले पाएको निर्मलले बताए ।

बाबुराम भारत परस्त हुन भन्ने पुष्टी भयो

नयाँ शक्ति पार्टीका पूर्व केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले बेला बेलामा बाबुरामलाई भारत परूत हुन भनेर लाग्ने गरेको आरोप सत्य सावित भएको दावी गरे । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा पीए भएर काम गरेका निर्मल पार्टी स्थापनादेखि नै नयाँ शक्तिमा आवद्ध थिए ।

उनले भने, ‘धेरैले बाबुराभलाई भारतको मान्छे भन्थे, हामीले पत्याएका थिएनौं । अव चाँही कुरा स्पष्टै भयो ।’

के आधार छ तपाईसँग भन्ने हाम्रो प्रश्नमा निर्मलले भने, ‘उहाँ भारत जानुभयो, धेरैसँग भेटघाट गर्नुभयो, त्यसलगत्तै उपेन्द्र यादव भारत गएर आउनुभयो, अनि हामी माथि कारवाही भयो । यहाँभन्दा ठूलो पुर्नपुष्टि हुने प्रमाण त के हुन पर्यो र ?’

पार्टी एकतापछि विचार बाबुरामको, नेतृत्व उपेन्द्रको

निर्मल भट्टराईका अनुसार नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले ३ प्रतिशत थ्रेस होल्ड लागू गरेपछि झन दुई पार्टी झन छिटो एक हुन दवाव बढेको छ ।

पार्टी एकता हुँदा बाबुरामको विचार र उपेन्द्रको नेतृत्व हुने उनको दावी छ । पाँच ‘स’ को विचार बाबुरामको हुनेछ । उनी सेरेमोनियल अध्यक्ष हुनेछन् भने पार्टीको नेतृत्व उपेन्द्रले सम्हाल्ने छन् । त्यसैको तयारी स्वरुप आजपनि उनीहरुको अन्तिम वार्ता भइरहेको उनको भनाई छ ।

हिसिलाका कारण रामेश्वर खनाल पार्टीमा टिक्न सकेनन्

नेता निर्मल भटराईले बाबुरामकी पत्नी हिसिला यमीका कारण नयाँ शक्ति पार्टीका आर्थिक विभाग प्रमुख रामेश्वर खनाल पार्टीमा टिक्न नसकेको दावी गरेका छन् । खनालले केहीसमय अघि आफू नयाँ शक्ति पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।

खनाललाई आर्थिक विभागको जिम्मेवारी दिएपछि आर्जक कसरी हुन्छ र कार्यकतासम्म पैसा कसरी पुग्छ भन्ने कुराको हेक्का पाउन खनाल असफल भएका थिए । उनका अनसार त्यसको मुख्य कारक हिसिला नै थिएन ।

‘पैसा कहाँबाट आउँछ, कहाँबाट जान्छ रामेश्वरलाई पत्तै हुन्नथ्यो, त्यसको जड हिसिला नै थिइन, पार्टीमा अपारदर्शीता हावी हुन थालेपछि रामेश्वर पनि टिक्न सकेनन्’, उनले भने ।

निर्मलका अनुसार खनालमा जातिवादी र मधेसवादी राजनीति गर्न हुँदैन भन्ने सोच थियो । तर त्यसले काम गरेन । ठिक उल्टो बाटोमा नयाँ शक्ति हिड्यो ।

बाबुराम र उपेन्द्रको एकतापछि नयाँ शक्ति पार्टी हाम्रै हुन्छ

नयाँ शक्तिबाट निष्कासित निर्मल भट्टराईले आफू राजनीतिबाट अलग भएर नबस्ने स्पष्ट पारेका छन् । पर्सी आफूहरु निकटका नेता कार्यकर्ताको राष्टिय भेला बोलाएको उनले जानकारी दिए ।

उक्त भेलाले एउटा राष्ट्रिय टिम बनाउने र अन्य पार्टीहरुसँग एकताका लागि छलफल गरेर चुनावमा जाने उनको भनाई छ । त्यही बेलाले नै पार्टीको रुपरेखा कोर्ने उनले बताए ।

उनले अव जन्मने नयाँ पार्टीको नाम ‘नयाँ शक्ति पार्टी नेपाल’ नै हुने दावी गरे । जुन पार्टीले तपाईहरुलाई निष्कासित गर्यो, त्यही पार्टी तपाईहरुको कसरी हुन्छ त ? भन्ने प्रश्नमा निर्मलले भने, ‘बाबुराम र उपेन्द्रको पार्टी एकता पछि नयाँ शक्ति खाली हुन्छ । त्यो खाली भएको पार्टीलाई हामी हाम्रो बनाउँछौं ।’

उनले आफूहरुको पक्षमा ५० जिल्लाबाट एक सय प्रतिनिधि र २५ हजार पार्टी सदस्य रहेको दावी गरे ।

नयाँ शक्ति र साझा पार्टीबीच एकता सम्भव छैन

निर्मलले बाबुराम भट्राई नेतृत्वका नयाँ शक्ति पार्टी र रविन्द्र मिश्रको साझा पार्टीबीच एकताको सम्भावनै नरहेको बताए ।

उनले भने, ‘साझा पार्टी सेलिब्रेटीहरुको पार्टी हो । नयाँ शक्ति जातीवादी र मधेसवादी पार्टी । त्यसैले यी दुई पार्टीबीच कुनै तादम्यता छैन ।’

नीतिगत र वैचारिक हिसावले पनि दुई पार्टीबीच एकता सम्भव नरहेको उनको भनाई छ ।