प्रदिप अधिकारी

झिसमिसे उज्यालो भर्खरै भएको हुँदो हो । मोबाइलमा टिरिङ टिरिङ घण्टी बज्यो । एकाबिहानै कसले गरेको हो, बेकारमा निन्द्रा बिथोलेर । मनमनै रिस उठ्यो ।

हेलो । मैले फोन उठाए ।

बाबु डिभी भर्यौ त पोहोर पनि भरेको परेन अहिले पनि खुलेको छ भन्ने सुनेको छु । यसो समय मिलाएर जान्छौ कि धेरै पनि पर्ने हैन ।

बिहान ओछयानमा हुँदा नै ममीको सुझाव भनौ या आशा जुन मप्रति लक्षित गरिएको थियो । पोहोर साल भारतले गरेको नाकाबन्दीले अनि भारतले नेपाललाई गरेको व्यवहारले नेपालीहरुमा केही हदसम्म भएपनि राष्ट्रियता जागेको छ । यस्तो अवस्थामा दुई घण्टा लामो लाइन बसेर डिभी भर्न पटक्कै मन थिएन । तर ममीको आशालाई पनि त जीवित बनाउनु छ ।

pradip-adhikari

हरेक आमाको इच्छा हुन्छ, छोराछोरीले प्रगती गरेको हेर्ने । त्यस्तै चाहना मेरो ममीको पनि हुनु नौलो कुरा भएन । बिग्रिएको आर्थिक अवस्था सुधार्ने आशा बनेछ डिभी मेरा ममीको लागि ।

मेरो ममीलाई पनि राम्रैसँग थाहा भएको हुनुपर्छ, देशको अवस्था । अनि राम्रैसँग थाहा छ बेरोजगारी अनि राजनीतिक अस्थिरता । त्यसैले त मलाई डिभी भर्न सिफारिस गर्नुभएको छ । देशमा बढिरहेको बेरोजगारीको पराकाष्ठा लाखौँ युवाको प्रमुख आकर्षण गन्तव्य बन्न पुगेको छ अमेरिका । खर्च कम अनि सुमधुर भविष्यको सपना देखेर शिक्षित व्यक्तिहरुको भिड नै लागेको स्पष्टै देखिन्थ्यो ।

बिहान ममीले गरेको फोनपछि मलाई पनि डिभी भर्न जाँगर चल्यो । सामान्य कारण नेपालमा भविष्य उज्ज्वल नदेखेर । पढेपनि नोकरी पाउनै गाह्रो । पाइहाले पनि ज्यान पाल्नै धौधौ । यस्तो अवस्थाबाट पिरोलिएर मलाई एक ताका विदेश नै जानुपर्छ भन्ने लागेको थियो । र, केही देशहरुमा प्रयास पनि गरे तर मलाई पत्याएन भनौ या भिसा लागेन ।

यो झिनो आशा भएको अमेरिकाले मलाई पनि लोभ्यायो । मासिक दुई तीन लाख । विलासी जीवन, अनि समाजमा छुट्टै स्थान पाइनेमा कुनै शङ्का छैन । हो मलाई पनि छोटो समयमा धेरै पैसा कमाउनु छ । त्यसैले डिभी भर्ने मौका खेर फाल्न मन लागेन । यता राष्ट्रियता राष्ट्रियता भनेर बस्दा चुलो बाल्न पनि त अर्काको आस गर्नुपर्छ । भोको पेटले राष्ट्रियता ख्याल गर्दैन । जब मानिसलाई भोक लाग्छ, खानेबेला सोध्दैन कि यो कुन देशबाट आयो भनेर ।

त्यस्तै पैसा कमाउनु छ । बुढेशकालमा आमाबुबालाई सुख दिनु छ । आफ्नो भविष्य चम्काउनु पनि छ । त्यसका लागि त नेपालमा सम्भावना कम देख्ने म जस्तालाई एउटा अवसर त हुन्छ । भलै यो चिठ्ठा हो । यसमा कसैको दुईमत छैन, चाहे परोस् या नपरोस् । झिनो आशा त सबैलाई हुन्छ । फेरि डिभी भर्दैमा त्यसमा राष्ट्रियता सवार छैन भन्ने पनि त छैन ।

दिउँसो लागे डिभी भर्न न्युरोडतिर । दशै भर्खरै नसकिएकोले होला, बाटोमा गाडीहरु कमै मात्रामा थिए । बाटोमा उभिदै गर्दा निलो माइक्रोको सहचालक रत्नपार्क भन्दै चिच्याइरहेको थियो । म पनि चढेँ सोही गाडीमा । गाडीमा मानिसहरु त्यति धेरै पनि थिएनन् । पहिलाको जस्तो जाम पनि थिएन । किनकी मानिसहरु अझै घरबाट आइसकेका थिएनन् । सहचालक भन्दै थियो…यहाँ ट्राफिक छ, अब सिधै रत्नपार्क गएर मात्र रोकिन्छ ।

मसँगै गाडीबाट झरेकी एउटी केटी पनि करिब सँगसँगै जस्तो एउटै बाटोमा हिडिरहेकी छ । घाम पनि मजैसँग चर्किएको छ । लाग्छ, त्यहाँ एउटा हैन सयवटा सुर्य प्रतिस्पर्धा गरिरहेका छन्, को धेरै तात्तिने भनेर ।

ती केटी कलरफुल छाता ओढेर अगाडी बढिरहेकी छन् । हातमा पिङ्क कलरको रुमालले बेलाबेलामा पसिना पनि पुछिरहेकी छन् । उनलाई पनि चर्किएको घामदेखि निकै रिस उठेको हुनुपर्छ । तर उनी केही गर्न सक्दिन थी, छाता ओढ्नु शिवाय ।

उनको गन्तव्य कहाँ त्यो मलाई थाहा छैन । तर उनको र मेरो हिँडाईका गति भने एउटै छ । मतलव हामी हाराहारीमा नै छौ । दुरी त्यस्तै आधा मिटर जति होला ।

जति नै नजिक भएपनि गाडीमा देखेकै भरमा बोलाउने हिम्मत आएन मलाई । बोलाउ पनि कसरी । फेरि अनर्थ मानिन् भने । एकमन बोलाउने साहस जुटाउथ्यो भने अर्को मन ह्या छाड्दे भन्थ्यो ।
कस्तो गर्मी है…यो सुनेर म झसङ्ग भएँ । बोलीको शुरुवात उनैले नै गरिन् ।

उम…एकदमै गर्मी छ ।

किन एक्लै घाममा हिडिरनु भएको आउनुुस् यही छाता शेयर गरुम । उनी मलाई एउटा केटी भन्दा पनि त्यसबखत भगवान नै लाग्यो । मान्छे मात्रै राम्रो भनेको मन पनि त्यस्तै रहेछ, मैले भने । उनी फिस्स हाँसिन् ।

कहाँ जान लाग्नु भएको हजुर… ।

डिभी भर्न इस्पोट जान लागेको । तिमी नि..।

ओउ सेम पिन्च । म पनि त्यही जान लागेको हो, सँगै जाऔँ न है । उनको भनाइ सुनेर मनै गदगद भयो । मनै त हो । यसको कुनै सिमा नहुने रैछ । साना कुरामा पनि हर्षित भइदिने अनि साना कुरामा नै दुख्ने । के हुन्छ आखिर मान्छेको मनभित्र चाहिँ ।

ओहो स्वर पनि त्यत्तिकै मिठो । कोइलीको सुमधुर आवाजलाई नै फ्लप खुवाउने । अझ उनको त्यो लोभलाग्दो शरीरको त ब्याख्या म कसरी गरुँ । लाग्थ्यो उनको शरीर देखेर नै कोककोला फिगर भन्ने चलन चलाइयो । मिल्ने भएर काँच्चै खाइदिनथे ।

बाटोमा हिड्दै गर्दा उनी र मबिच धेरै औपचारिक गफगाफ भए । जसले उनको वास्तविक जीवनका केही पाटाहरु मैले जान्न पाए । र, उनले पनि । केहीबेरको हिडाई पछि हामी माछा झुण्डिएको भवनमा पुग्यौं । मतलव हामी ई–स्पोट नेपालमा पुग्यौं ।

त्यहाँ पुग्दा मैले सोचेको भन्दा माहोल नै भिन्न थियो । लामो लाइन । युवादेखि ५० कटेका उमेरले बुढा भइसकेका मानिसहरुको भिड । कस्तो क्रेज रहेछ अमेरिका शब्दमा, सबैको ध्यानाकर्षण उही । उनी र म सँगै लाइन बस्यौं । करिब डेढ घण्टा लामो समयपछि हाम्रो पालो आयो । फोटो खिचियो, फर्म भरियो । कन्फरमेसन लेटर लिएर हामीले फर्कने सुर कस्यौं ।

के खाजा खाने । भोक त लाग्यो होला नि, मैले सोधे ।

उनलाई खानै मन नलागे जसरी उत्तर दिइन्, नाँइ केही पनि नखाने । मैले अलि कर गरिदिओस् भन्ने लागेको होला सायद । मैले धेरै कर गरेपछि हामी होटल छिर्यौ ।

साहुजी, एउटा चुरोट अनि दुई वटा नेवारी खाजा सेट है । मैले भने ।

मैले यसो भनिरहँदा उनले मुख अमिलो बनाइन् । मात्र अब त्यसलाई चटपटे बनाउन बाँकी छ । तिमी चुरोट खान्छौ र । हेर्दा त लाग्दैन त्यस्तो, एकदम सोझो देखिन्छौ । चुरोट खाँदैमा त्यो मान्छे बिग्रेको भन्ने त केही छैन नि, मैले भने ।

हुन त मैले उसको अगाडी चुरोट खान त के कुरा गर्न पनि हुन्थेन । तर के गर्नु खाने बानी लागेपछि तलतल मेटाउन नभै नहुने रैछ । खोलालाई तँ आफ्नो धार परिवर्तन गर भन्दा मान्छ र ।

बिस्तारै उसले आफ्नो धारलाई परिवर्तन गर्दै लान्छ, सधै एउटै धारमा बग्दैन भन्छन् बुढापाकाहरु । हो त्यस्तै हो मान्छेको लत पनि । तिमीले भन्छौ भने म छोड्दिन्छु, उनको सामु सोझो बन्ने कोशिस गर्दै मैले भने । अँ लत पनि त्यति सजिलै छोड्न सकिन्छ नि । बरु अलि कम गर्नुस् । उनको यो सुझावले आफ्नै महशुस गरायो ।

खाजा खाइसकेपछि हामी आफ्नो गन्तव्यतर्फ लाग्यौं । गाडी चढ्नु भन्दा भित्री गल्ली बसन्तपुर, कालीमाटी हुँदै कलंकी आउन ठीक भन्दै हामी सरासर हिड्न थाल्यौ ।

उनी अलि रोमान्टिक नै लाग्यो मलाई । हुन त केटाको जातलाई विपरीत लिङ्गी अर्थात केटी मुसुक्क हाँसे पनि रोमान्टिक लाग्छ भन्छन् । तर उनी त्यतिमा मात्र सिमीत थिइनन् । मिजासिलो, बोलिरहने, सल्लाह दिने र ठाँउठाँउमा मजाक पनि गर्ने बानीले बाटो कटाउन हम्मेहम्मे परेन । कुनै कुराहरु यस्ता हुने रहेछन् जुन जति नै अफ्ठ्यारो भएपनि सजिलो लाग्ने । मलाई त हामी हिडिरहेको बाटो केही समयका लागि लामो भइदिए हुन्थ्यो झैं लाग्थ्यो, किनकी मलाई उनीसँगको गफ अनि निकटता नै प्यारो लागिरहेको थियो । गफ त्यो मान्छेसँग गर्न मन लाग्छ जसले हामी बोल्दा कुनै प्रकारको बोर तथा असहज नमानिदियोस् । उनले पनि त्यस्तो कुनै असहज मानेको देखिन्नथ्यो ।

झन् हातका हाउभाउ लगाएर बोल्ने गर्थिन् ।

गफ गर्दै जाँदा उनी र म निकै नजिकको साथीजस्तै भइसकेका थियौं । केवल एक छिनमै । यस्तो हुँदा हाम्रो नम्बर र फेसबुक आईडी साटासाट हुनु त सामान्य नै भयो ।

मन्दिर आइपुगेपछि हामी छुट्टियौं । उनले मलाई बाई भन्दै अस्ताइन । म पनि साँझ परेपछि सारौ गुँड पसेजस्तै गुँड पसें ।

माया गर्न पनि त कोही न कोही चाहिन्छ नै । नत्र कसरी हुन्छ माया । कोही जीवनमा यस्ता लाग्छन्, जसलाई आफुलाई भन्दा पनि धेरै माया दिन पाइयोस् । हो मैले आज त्यस्तै मान्छे पाएको छु । तर उनले के गर्छिन् त्यो उनको कुरा भयो ।

यो गर्मी मौसममा उनलाई छाता बनाउन चाहन्छु । गर्मीमा उनका लागि एक झर पानी हुन चाहन्छु । यो गर्मीमा पानी त पर्ने अवश्य नै छ किनकी आज बादल कालो भइसकेको छ । मात्र बाँकी छ पहाडसँग ठोक्किन ।

कोही मानिसहरु पहिलो भेटमै किन यति धेरै नजिक हुन्छन् । नजिक भएपछि एकआपसमा ठोक्किएर कतै फुट्ने त हैन । मैले सोचेको कुरा गलत साबित भइदियोस् ।

हुन त मलाई जस्तो मायाको काउकुती उनलाई पनि लागेको हुनुपर्छ । चाहे जे होस् एउटा बोल्ने साथी त पाएको छु । एकान्तमा याद गर्ने मान्छे त पाएको छु ।

अनलाइनमा उनी आउने, बोलाउने, गफगाफ गर्ने, भेट्ने हाम्रा लागि सामान्य नै भइसकेको छ । उनी मलाई घरीघरी जिस्काइरहन्छिन्, मलाई त दैलो पोत्न आउदैन है । अनि खाना पनि बनाउन आउदैन । तिम्रो ममीले मार्नुहन्छ होला है । कि सबै काम गर्ने खोज्छौ । अनि म भन्ने गर्छु, म सिकाउँछु नि तिमीलाई अहिलै देखि पिर नमान न काली ।

यसैगरी उनी मलाई जिस्काइरहन्छिन् । म पनि उनको कुरामा लठ्ठ हुन्छु, जस्तै भाङ खाँदा हुन्छ ।

हामी प्रेममा छौं या छैनौ त्यो थाहा छैन । तर प्रेमजस्तै केही चाहि छ हामीबिच । तर कतिञ्जेल । आजकाल माया भन्ने चिज फेशनजस्तै भएको छ समय–समयमा परिवर्तन भइरहने । प्रेम यस्तो पनि नहोस्, जस्तो कि मोबाइलको एन्ड्राइड सिस्टमजस्तो बेला–बेलामा अपडेट गरिरहनुपर्ने ।

प्रेम घरमा छाएको जस्ता हो जसले धेरै आँधीबेरी, घामपानी, असिना खाएर पनि टिकिरहन्छ,अरुलाई ओत दिन कुनै कन्जुस्याँइ गर्दैन । मतलव यो हैन कि कहिल्यै पनि चुहिन्न । चुहिँदा टाल्न सक्नु नै प्रेम हो । प्रेम त यस्तो होस् जुन एकपटक गरेपछि सदाका लागि होस् ।

ममीको आग्रहमा डिभी भर्न गएको छोरालाई डिभी पर्छ या पर्दैन । अमेरिकाको भिसा लाग्छ या लाग्दैन, त्यो जिम्मा समयलाई । तर घरका लागि एउटी बुहारीको भिसा भने पक्कै लाग्नेछ । जसले ममीको घरधन्दालाई केही हदसम्म भएपनि राहत मिल्नेछ ।