२७ असार, काठमाडौं ।

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संविधान संसोधन विधयेक अघि बढाउने विषयमा छलफल हुनेछ । बैठकमा सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संसोधन विधयेक अघि बढाउन नेकपा एमालेलाई मनाउने प्रयास गर्न लागेका हुन् ।

संसदमा पेश भइसकेको संविधान संसोधन विधयेक यसै साता अघि बढाउने तयारीमा रहेका सत्तारुढ दलहरुले एमालेको पनि सहमति खोज्न लागेका हुन् । गएको मंसिर महिनामै प्रचण्ड सरकारले संसद सचिवालयमा दर्ता गराएको संसोधन विधयेक पारित नहुने भएपछि अहिलेसम्म प्रक्रियामा लगिएको छैन ।

पछिल्लो समय राष्ट्रिय जनता पार्टी नेपाल र नेकपा एमालेबीचको सम्बन्ध सुधारोन्मुख रहेकाले संविधान संसोधन विधयेकमा एमाले केही लचक हुन सक्ने सत्तारुढ दलहरुको बुझाई छ । तर नेकपा एमालेले संसोधन प्रस्ताव राष्ट्रहित विपरित रहेको भन्दै कुनै हालतमा पास हुन नदिने अडान यथावत राखेको छ ।

हिजो बेलुकी बसेको एमाले स्थायी कमिटीको बैठकले संसोधनको पक्षमा सहयोग नगर्ने निर्णय गरेको हो । एमाले नआउँदा पनि प्रतिपक्षी गठबन्धनका साना दलहरुलाई तानेर संसोधन विधयेक पास गराउने सत्तापक्षको तयारी छ ।