१६ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री प्रचण्डले जसरी पनि संविधान संसोधन गर्ने र देशलाई निर्वाचनमा होम्ने विषयमा आफूलाई अगाडि बढाइरहेका छन् । यसै प्रयत्नमा उनले एउटा इटा थप्ने प्रयास स्वरुप संविधान संसोधनमा सबैको सहमति जुटाइमाग्न शुक्रबार आफ्नै सरकारी निवास बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक पनि डाके ।

बैठकमा सहभागी नेता पनि के कम प्रमुख प्रतिपक्ष दल एमालेका तर्फबाट अग्नी खरेलले सरकारले अघि बढाउन खोजेका संसोधन प्रस्तावका विषयमा आफूलाई थाहै नभएको बताए । उनलाई एक दुई सिटे दुईदेखि तीनदलले साथ दिए तर, अरु दलले संसोधनका पक्षमा मत दिए ।

बारम्बार आफूले आग्रह गर्दा पनि एमाले अध्यक्ष केपी ओलीले बेवास्ता गरेकोले तनावमा आएका प्रचण्ड पनि के लामो व्याख्या गर्दै ओलीप्रति यसरी खनिए :

 तराईमा मधेसकेन्द्रित दलहरुको आन्दोलन चलेको अहिलेदेखि होइन । संविधान बन्दै गर्दादेखि अहिलेसम्म उहाँहरु आन्दोलनमा हुनुहुन्छ । उहाँहरुले आन्दोलन गर्दा सुशील कोइराला प्रधानमन्त्री हुनहुन्थ्यो । स्वंय केपीओली प्रधानमन्त्री हुँदा त झन् आन्दोलन चरम अवस्थामा पुगेको सबै जानकार छौं । उहाँहरुले निरन्तर आन्दोलन गर्दा पहिले पनि वार्ता र संवादको प्रयास नभएको होइन । अहिले म प्रधानमन्त्री भएदेखि नै पहिलेको वार्ता र संवादको प्रक्रियालाई सोही स्पिरिटमा अघि बढाएको हुँ । नयाँ विषयलाई अघि बढाएको छैन र होइन । पहिले अघि बढेका विषयलाई अघि बढाउँदै जाँदा बल्ल मेहनतपूर्वक उहाँहरुलाई सहमतिमा ल्याउँने र चुनावसम्म डोहोर्याउने काममा सफलता हात पार्दै छौं । अर्कोतिर यस अघि सीमाकंनमा जसरी विषयहरु अघि बढाइएको थियो । हामीले अहिले नयाँ केही गरेका छैनौं । पहिलेकै विषयलाई अघि बढाएका हौं । अहिले संसोधनमा प्रस्ताव गरिएको संघीय आयोग बनाएर सीमांकन टुंग्याउने विषय मेरो होइन, पहिलेदेखि उठ्दै आएको विषयलाई अघि बढाएको मात्र हुँ ।

अब यसरी सहमति बन्दै जाँदा कसैले पनि असहमति नगरौं । मधेसका साथीहरु संसोधनका विषयले मात्र हाम्रा माग पूरा हुँदैनन् भन्दै आउनुभएको छ । तर, पनि निर्वाचनमा जाने तयारीमा उहाँहरु हुँदा हामी किन अड्चन पैदा गर्ने ? उहाँहरु आउने र देश सहमतितिर जाने हो भने हामी केही दलले किन किचकिच गर्ने ?

मैंले हदैसम्म लचक हुँदै एमालेसँरग छलफल गरिरहेको छु । आन्दोलन गर्दै गरेका दलसँग सहमति बन्दै जाँदा तपाईंहरु असन्तुष्ट नहुनुहोस् सहमतिमा अघि बढौं भन्दै आएको छु । सहमतिको प्रयास मैंले छोडेको छैन । तर, अब सहमतिमा एमाले नआउने हो भने पनि संविधान संसोधन प्रक्रिया अगाडि बढ्छ । एमाले पनि आउँछ भन्ने भएरै जसरी पनि संविधान संसोधन गर्ने भनिएको हो । अब निर्वाचन पनि रोक्दैनौं । संसोधनको प्रक्रिया पनि रोक्दैनौं । मुखैमा आएको निर्वाचनलाई अन्यौल बनाउने काम नगरौं । संसोधन गरौं । निर्वाचनमा जाउँ । बजेट गर्ने र दुई चररणमा चुनाव गर्दा मतगणना कहिले गर्ने भन्ने विषयलाई सहमतिमा टुंग्याउन सकिन्छ यसमा गाह्रो छैन ।

प्रचण्डले बैठकको अन्तिमतिर सहमतिको प्रयासबारेमा भएका विषयलाई प्रस्तुत गर्दै गर्दा बैठक कक्षमा सन्नाटा छाएको थियो । प्रचण्डले बोललगत्तै सर्वदलीय बैठक सकियो । यो बैठकमा एमाले अध्यक्ष केपी ओली ओली सहभागी थिएनन् । तर, सर्वदलीय बैठक सकिएलगत्तै एमाले अध्यक्ष केपी ओलसहितका शीर्ष नेतालाई बोलाएर प्रचण्डले बालुवाटारमा यिनै कुरा फेरि राखे ।

यो पढ्नुस्।

प्रचण्डपछि मधेसी दलका नेता प्रधानमन्त्री !