७ जेठ, एजेन्सी । गत एप्रिल २८ बाट प्रदर्शनमा आएको फिल्म ‘बाहुबली–२’ले १५०० करोड कमाई गरेर भारतीय फिल्म इतिहासमा आफ्नो नाम दर्ता गरिसकेको छ । त्यस्तै, आमिर खान अभिनित पछिल्लो फिल्म ‘दंगल’को व्यापारको आंकडा बढ्दो छ र ‘बाहुबली–२’को कमाईको आंकडा नजिक पुगिसकेको छ ।

दुवै फिल्म भारतीय सिनेमाको सबैभन्दा बढी कमाउँने फिल्म बन्ने दौडमा छन् । फिल्म बिश्लेषकको जानकारी अनुसार, फिल्म ‘दंगल’ ‘बाहुबली–२’ भन्दा १२० करोड रुपैयाँले मात्रै पछि रहेको छ । अहिलेसम्मको ‘बाहुबली–२’को विश्वभरको कमाई १,५३८ करोड पुगेको छ भने ‘दंगल’ले हालसम्म १,४१८ करोडको व्यापार गरिसकेको छ ।

आमिरको ‘दंगल’ले चीनमा निक्कै राम्रो व्यापार गरिरहेको छ र सबै रेकर्ड तोडुदै गइरहेको छ । चीनमा रिलिज भएको १६ दिनमा ‘दंगल’ले ६०० करोडमाथि कमाई गरेको थियो । फिल्म ‘दंगल’ २२ डिसेम्बर, २०१६ बाट रिलिज भएको हो ।