७ कार्तिक, बेलौरी (कञ्चनपुर) । विस्थापित भएको १२ बितिसक्दा पनि आरक्षपीडितको पुनःस्थापना हुन सकेको छैन ।

विसं २०५८ मा तत्कालीन सरकारले शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा सो क्षेत्रमा बसोवास गर्ने हजारौ परिवार विस्थापन गराएको थियो । तत्कालीन समयमा विस्थापि आरक्षपीडितको अहिलेसम्म पुनःस्थापना हुन नसक्दा समस्या जस्ताका तस्तै छन् । आरक्ष शिविरमा गाँस, बास कपासका साथै आर्थिक समस्या पनि यथावत् छ । पुनःस्थापित नहुँदा पीडितलाई छाक टार्न पनि धौ धौ परेकाले आरक्षपीडितको समस्या समाधानका लागि २४ औँ आयोगले प्रमाणीकरण गरेका दुई हजार ४७३ को पनि पुनःस्थापना भएको छैन । उनीहरु अहिले देखतभुली–१ ढक्का चाँन्देव शिविरमा बस्दै आएका छन् ।

आरक्षपीडित जनक जोशीले सरकारले आरक्षको जमिन भन्दै आफूहरुलाई सङ्कटकालमा उठाएको तर हालसम्म पनि पुनःस्थापना गर्नमा ध्यान नदिएको बताए । “बेलाबेला आन्दोलनसमेत गर्यौँ, तर कुनै सुनुवाई भएन”, उनले भने । आरक्षपीडितका लागि बनाइएका आयोगले कुनै काम नगरेको पीडित जोशीको भनाइ छ । “अठ्ठाइसौँ आयोग बनिसक्दा पनि वास्तविक आरक्षपीडितका लागि कुनै पहल भएको छैन, आयोग कर्मचारी पाल्ने भाँडो भएको छ”, उनले भने ।

शिविरमा स्वास्थ्य शिक्षा खानेपानीलगायत सेवा पुग्न सकेको छैन । आरक्षपीडित सिटामोल किन्न पनि नजिकैको भारतीय सहरमा जाने गर्छन् । अर्थ अभावले बिदेसिने युवाले भारतमा रोजगारी भएका कारण उपचार गर्न पनि भारत जाने गरेको भारतमा काम गर्दै गरेका आरक्षपीडित धनसिंह धामीले बताए ।

आरक्ष शिविरमा खानेपानीको अभावमा बिरामी परेकामध्ये दुईजनाको मृत्यु भइसकेको आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताए । रासस