१ साउन, काठमाडौं ।

सरकारले बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना निर्माण गर्न राष्ट्रिय हित विपरित हुनेगरी चिनियाँ कम्पनी गेजुवासँग समझदारी गरेको भन्दै नयाँ शक्ति पार्टी निकटको विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनले विरोध जनाएको छ ।

सरकारले राजनीतिक रुपमा अनैतिक, गैरकानूनी एवं राष्ट्रिय स्वाभिमानविपरित चिनियाँ कम्पनीलाई परियोजना निर्माणका लागि ठेक्का दिएको भन्दै विद्यार्थी युनियनले आज काठमाडौंको माइतिघर मण्डलामा १ घन्टा धर्ना दिएको हो ।

धर्नामा सहभागी नयाँ शक्ति विद्यार्थी युनियनका संयोजक रमेश महतोले राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि आवश्यक लगानी स्वदेशमै उठ्ने बताउँदै सरकारले कमिशनको चक्करमा विदेशी कम्पनीलाई परियोजना सुम्पिएको बताए ।

यसअघि पनि नयाँ शक्तिले बुढीगण्डकी आयोजनाको सम्झौता गैरकानूनी र राष्ट्रिय स्वार्थविपरित भएको, साथै यसले दीर्घकालीन रुपमा आर्थिक तथा सामाजिक समस्या सिर्जना गर्ने भन्दै सम्झौता खारेज गरी आफ्नै स्रोतबाट आयोजना निर्माण गर्न दबाबस्वरुप नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।