बुटवल, ४ जेठ ।
प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज विविध कार्यक्रम गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आज आयोजना हुने विशेष समारोहमा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ यहाँ आई दीप प्रज्ज्वलन गर्नाका साथै राजा शुद्घोधनको तिलौराकोटस्थित दरबारको भग्नावशेष अवलोकन गरेका थिए । उनले आज बिहान मायादेवी मन्दिरमा विशेष पूजा गर्ने, शान्ति र्‍याली शुभारम्भ गर्ने, भिक्षु भिक्षुणीलाई भोजन दान गर्ने, फलफूलका बिरुवा रोप्ने र झण्डोक्तोलन गर्ने कार्यत्रम रहेको भ्रमण वर्ष २०७६का संयोजक कार्यक्रम तथा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिए ।

आजै प्रदेश नं ५ को सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भसहित बुद्घ जयन्तीसमबन्धी मूल कार्यक्रम औपचारिक रुपमा शुरु हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

यस्तै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले २५६३ औँ बुद्धजयन्तीका अवसरमा आज शुभकामना शन्देश जारी गर्दै भगवान् बुद्धका उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ भन्दै बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको भएको बताए । उनले प्रदेश सरकारले समृद्धिको मुख्य आधार पर्यटन विकासलाई नै बनाएकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी भ्रमण वर्षको कार्यक्रम महत्वपूर्ण हुने बताए ।