दिनेश आचार्य । ११ वैशाख, युएई  ।
युएईको अबुधाबीमा २५६१ औं बुद्ध जयन्ती ४० संघसंस्थाहरुको संयुक्त आयोजनामा भब्यरुपमा मनाइदै छ ।

आयोजक रहेका ४० संस्थाहरुले गत शुक्रबार एक पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिए । राष्ट्रिय विभूति, शान्तिका अग्रदुत, भगवान गौतम बुद्धको जन्मभूमि नेपालको पर्यटन प्रबद्र्धनसँगै अन्य देशले गौतम बुद्धका बारेमा छरेको भ्रम चिर्न कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी गराए !

बिगतका बर्षहरुमा पनि नियमित रुपमा बुद्ध जयन्ती मनाइएता पनि, यस बर्ष युएइमा कृयाशिल अधिकाशं संघसंस्थाले अपनत्व लिदै भब्य बनाउने तयारीका साथ लागिरहेका छन् ।

मुल आयोजक समितिमा सदस्य तथा नेपाली समाज यूएईका महासचिव मणि भुर्तेलले भने, यसअघि बुद्ध जयन्ती जनजाति साथीहरूले मनाउदै आउनु हुन्थ्यो । वास्तवमा बुद्ध जनजातिहरुको मात्र नभई राष्ट्रको पहिचान भएको हुँदा सबै मिलेर मनाउँ भन्ने हाम्रो प्रस्ताव हो । यो प्रस्तावलाई सबै संघ सस्थाले सहजै रुपमा लिँदा यो कार्यक्रम गर्न हौसला मिलेको छ । अब कार्यक्रम सफल हुनेमा कुनै दुविधा छैन । यस्तो कदमले देशका राष्ट्रिय चाडपर्वहरु संयुक्त रुपमा मनाउने अभ्यासको पनि सुरु भएको छ ।

पत्रकार संम्मेलनमा बोल्दै कार्यक्रमका आर्थिक संयोजक एकेन्द्रबहादुर थापाले कार्यक्रममा करिब युएई दिराम ४० हजार सम्म खर्चहुने र सहज रुपमा त्यसलाई आर्थिक व्यवस्थापन गरिने खाका प्रस्तुत गर्दै कार्यक्रमको टिकट ४० दिराम राखिएको र यातायात व्यवस्था पनि मिलाइएको जानकारी दिए ।

बौद्ध धर्मगुरु बौद्ध महासंघका पूर्वअध्यक्ष खेन्पो भगेन्द्र सिला ( नन्द प्रसाद तिमल्सिना) को विशेष उपस्तिथिसहित प्रवचन हुने कार्यक्रममा अन्य देशका नागरिकहरुलाई समेत यसबारेमा जानकारी प्रदानगर्ने, भगवान गौतम बुद्धसम्बन्धी जानकारी सहितको भिडियो प्रस्तुत गरिने, साथमा नेपालका लोक तथा दोहोरी गायक खुमन अधिकारी, लोक तथा दोहोरी गायिका कोपिला गुरुङ, सेलो गायक रोज मोक्तानको साथमा युएईमा रहेका कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम मुल आयोजक समितिका सदस्य गोविन्द ढकालले जानकारी गराए । कार्यक्रम करिब चार घण्टाको रहने जानकारी दिए ।

उक्त कार्यक्रम युएईमा रहेका व्यवसायी, राजनैतिक दल र सामाजिक संस्थाहरु एकै ठाउँमा रहेर संयुक्तरुपमा आयोजना गर्न लागिएको हो । कार्यक्रमका आयोजकमा नेपाली समाज, नेपाल आदिवासी जनजाति महासंघ, नमस्ते ट्राभल, नेपाल विश्व सहयोग संघ, नेपलिज सोसल क्लब, शेर्पा किदुग, किरात याक्थुङ चुम्लुङ, तमु समाज, गोरखा सेवा समाज, सुनुवार सेवा समाज, काभ्रे सेवा समाज, नेपाली समुदाय, थारु समाज, अन्तर्राष्ट्रिय कलाकार समाज, दलित एकता सञ्जाल, लुम्बिनी वेल्फेर सोसाइटी, पर्वत सेवा समाज, रुपन्देही सेवा समाज, नवलपरासी सेवा समाज, कास्की आदर्श सेवा समाज, सर्लाही सेवा समाज सहीतका ४० संस्था रहेका छन् ।

यस्तै, किरात राई यायोख्या, नेपाली जन प्रगतिशील मञ्च, नेपाल मगर संघ शाखा, लिः ल फङ घले समाज, सिलेट ट्राभल एण्ड टुर्स, चितवन समाज, प्रवासी नेपाली एकता समाज, तामाङ समाज, अल सम्हा टावर क्याफ्टेरिया, अर्घाखाँची सम्पर्क समिति, स्याङ्जा सहयोग समाज, हिमालय वल्र्ड ट्राभल, नेपाली कलाकार समूह, प्रबासी भुजेल समाज सेवा समिति, त्रिशुली समाज, मितेरी समाज, नेपालीको सगरमाथा रेस्टुरेन्ट, माझी समाज, अन्तर्राष्ट्रिय नेपाली समाज पनि कार्यक्रमका आयोजक हुन् ।

नेपाल पत्रकार महासंघ युएईले मिडिया कोर्डिनेटरको भूमिका निर्वाह गरिरहेको उक्त कार्यक्रममा नेपाली हेडलाइन्स (Nepali Headlines) सहित झण्डै १ दर्जन मिडियाहरुले कार्यक्रम सफल बनाउन समन्वय गरिरहेका छन् ।

आयोजित उक्त कार्यक्रम १२ मे २०१७ का दिन आबुधावीको फोक्लोर हलमा हुन गइरहेको छ ।