काठमाडौं।
जीवनले कहाँ र कतिखेर कोल्टो फेर्छ भन्न सकिन्न । गरिबी, अशिक्षा अभावका कारण अहिले पनि दैनिक रुपमा नेपाली सिधासाधा दिदीबहिनीहरु दिनदहाडै बेचिन पुगेका छन् । गरिबीको फाइदा उठाउदै चेलिबेटी बेच्ने गिरोह अहिले पनि सक्रिय नै छ ।

१२ बर्षको कलिको उमेरमै कपडा किन्न जाने क्रममा बर्दियाको बनगाईकी अस्मिता (नाम परिवर्तन) को अपरिचत व्यक्ति (महिला) सँग भेट भयो । सस्तो कपडा पाइने आशामा उनी ति महिलाको पछाडि लागेर बाँकेको कोहलपुर पुगिन । कोहलपुर पुग्ने वित्तिकै उनको सपना चक्नाचुर भयो । सस्तोमा राम्रो कपडा किन्ने आशामा उनी दलालको फन्दामा परेर बेचिएको पत्तै पाइनन् । अस्मितालाई चियामा हालेर बेहोस हुने औषधी खुवाइएको अलिअलिमात्र थाहा छ । तर ब्युँझिदा उनी भारत नयाँ दिल्लीको जेभी रोडको बेश्यालयमा पुगेकी थिइन ।

कलिकै उमेरमा जीवनमाथि बज्रपात आइलागेपछि उनीले रुनसम्म रोइन  । तर निर्दयीहरुले त्यो चित्कार किन सुन्थे र ? १२ बर्षको उमेरमै उनले दैनिक पचास जनासँग शारीरिक सम्बन्ध राख्न बाध्यको भएको पीडा अहिले पनि सहज रुपमा भुल्न सकेकी छैनन् । नारकीय जीवनबाट उनलाई ज्योतीको घर नेपालले उद्दार गरेर अहिले बालगृहमा राखेको छ ।  उनी त्यो पीडा भुल्ने प्रयासमा छिन् । त्यो पीडा भनिसाध्यै छैन् । यसै विषयमा बर्दिया घर भएकी अस्मिता (नाम परिर्वतन)सँग नेपाली हेडलाइन्सले गरेको कुराकानीका आधारमा तयार पारिएको सामाग्रीः

चित्कार र प्रतिकार सुन्ने कोही थिएन
म कोहलपुर सामान किन्न गए । सामान मंहगो लाग्यो । सामान किन्न क्रममा कोहलपुरमा एक जना अपरिचित दिदी भेटे । उनले यहाँ भन्दा नेपालगन्जको सीमा पार भारतीय बजारमा सस्तो सामान पाइन्छ भनिन् । मैले पनि होला भनेर उनीसँग पछि लागे ।

अनि एउटा होटलमा पुगेर चियाँ खाउँ भनिन् मैले पनि हुन्छ भने । चिया खानेवित्तिकै मलाई रिङ्गटा लागेकोजस्तै भयो । त्यसपछि मलाई केही थाहा भएन होसमा आउँदा ठूलठूला घरहरु देख्दा मलाई निकै अचम्म लाग्यो ।

अनि त्यो दिदिलाई मैले सोधेँ यो कुन ठाउँ हो ? उनले भनिन् यो नेपाल नै हो । त्यसपछि त्यो दिदिले मलाई घुम्न जाऔं भनिन् । मैले सोधे–कहाँ जाने दिदी ? उनले जवाफ दिइन–मन्दिरमा ।

म त्यहाँ पुग्दा थुप्रै नेपाली दिदीहरुलाई देखेँ । जब म घरको कोठामा पसेँ । त्यहाँ सानो–सानो कोठाहरु थियो । नेपाली केटीहरु पनि थिए । तिनीहरुले छोटाछोटा लुगा लगाएको देख्दा मलाई अचम्म लाग्यो ।

मलाई पनि उनले त्यस्तै लुगा किनेर ल्यादिइन् । मैले त्यो लुगा लगाउन मानिन । मलाई जबरजस्ती तल्लो कोठामा झारियो । त्यसपछि जबरजस्ती काम गर्न लगाइयो । मैले निकै गर्दिँन भने तर त्यहाँ मेरो कुरा सुन्ने कोही थिएन । त्यो पीडाले अहिले पनि मन निकै पोल्छ । ती दिदी मलाई यही बसिराख भन्दै हिडिन । मैले दिदी म पनि सँगै जान्छु नि ? भनेर निकै विन्ती गरे । तर म तीस हजारमा बेचिएकी रहेछु । पछि  मात्र थाहा पाएँ ।

शिव अकंल र ज्योतिको घर नै भगवान
कहिलेकाहीँ सपना पनि विपना भइदिँदा अच्चम लाग्छ । मैले त्यस्तो ठाउँबाट यहाँसम्म आउन सक्छु होला भनेर कल्पना पनि गरेको थिइन् । बिहान बेलुकी रातदिन नभनी ग्राहको रोजाइ अनुसार मैले काम (यौन सम्बन्ध) गर्नु पर्थ्यो ।

तीन महिना त्यस्तो काम गर्दा गर्दा म बिरामी परे । तर उनीहरुले अस्पताल लानुको साटो त्यहिँको एकजना इण्डियन दिदीको कोठामा लगेर राखे । डाक्टरलाई त्यहिँ बोलाएर मेरो उपचार भयो । त्यहिँ मैले शिव अकंल भेटेँ । जुन अकंल मेरो जीवनको साक्षात भगवान भएर आउनु भो । उहाँले ज्योतिको घरको बारेमा बताउनु भो । मैले उहाँलाई यति मात्र भनेको थिएँ–अकंल कसरी हुन्छ म घर फर्कन चाहन्छु । उहाँकै कारण म नेपाल आउन सकेँ ।

ज्योतिको घरले मेरा तीन बहिनीहरुलाई पनि ल्याएर पढाएको छ । धेरै खुसी छु । पढेर डाक्टर बन्नेइच्छा छ । हेरौ के हुन्छ ?

आँखाबाट आँशु थामिदैन
जब त्यस्तो काम गर्न बाँध्य भएँ । म त्यो पीडा भन्नै सक्दिन । (भक्कानिँदै) त्यो पीडा सम्झँदा अहिले पनि मेरो आँखाबाट आँशु रोकिँदैन । त्यस्तो ठाउँमा कोही पनि दिदीबहिनी पुग्न नपरोस ।

म भन्दा सानो उमेरका दुई जना बहिनीहरु पनि थिए । तिनीहरुले मलाई रुदै दिदी भनेर पीडा पोख्थे । मलाई पनि आफ्नो पीडासँग तिनीहरुले खेप्नु परेको पीडाले पनि पोल्थ्यो । म त आउन सफल भए । तर खै ति बहिनीहरु कुन अवस्थामा छन् कहाँ छन ? केही थाहा छैन् । कसरी हुन्छ के गरेर हुन्छ उनीहरुलाई त्यस्तो ठाउँबाट निकाल्न पाए हुन्थ्यो ।

काम (यौन सम्बन्ध) मात्र होइन साहु र ग्राहक दुबैले पिट्ने, चुरोट रक्सी खुवाउने काम गरेर झन् पीडा दिन्थ्यो । त्यतिबेला मैले आमालाई सम्झिन्थे र रुन्थे । अहिले म विस्तारै यि सबै घटना विर्सने कोशिस गरिरहेको छु ।

जुन दिन मैले संसार जिते
शिव अकंललाई भेटेपछि नेपाल आउने आशा जाग्यो । तर यो ठाउँबाट कसरी भाग्ने हो भन्ने चिन्ताले रातभर निदाउन सकिन । जब बिहान भयो । आज मैले संसार जित्छु भन्ने आशा त जाग्यो तर भाग्ने उपाय निस्किएको थिएन ।

काम गर्ने ठाउँका साहुलाई चिनेकाले अलिअलि मेरो भरोषा मान्थ्यो । घर बस्दा लगाउने लूगा लगाएर विस्तारै पसल जाने बहानामा निस्किएँ । यति छिटो हिँडेकी पत्तै भएन । पछाडिबाट समात्न आउछन् कि भन्ने मनमा चिन्ता पनि थियो । जब शिव अकंललाई भेटे मैले संसार जिते, खुसीको सीमा नै रहेनछ । खुसी सम्झिएर पनि रोएँ ।

ज्योतिको घरले झन मलाई यसरी बालगृहमा राखेर यस्तो अवसर दियो । त्यो खुसीको बयान म गर्न सक्दिैन । शिव अकंल र ज्योतिको घर मेरो लागि भगवान हो । उहाँहरुलाई म धन्यवाद दिन चाहन्छु ।

पचास जनासँग ‘काम’ गरेको त्यो दिन
मैले काम गरेको ठाउँमा पाँच हजार भन्दा बढीको नाम हुन्थ्यो । साना–सानो लामो खालका घरमा त्यस्तो काम हुन्थ्यो । काम गर्न नमान्दा नसक्दा तिनिहरुले थर्काउने पिट्ने गरेर बाध्य पार्थे । बिरामी हुँदा पनि छोडिदैन्थ्यो ।

दैनिक रुपमा २५ जनासँग त नियमितजस्तै  काम गर्नु पर्दथ्यो । धेरै दिन त पचास जनासम्म पनि काम गर्नुपर्यो । यो पीडा सम्झि साध्यै छैन् । उनीहरुले थकाई नलागोस् भनेर ट्याबलेट खुवाउँथ्यो । जति खेर काम गर्नुपर्दथ्यो त्यतिखेर नै ट्याबलेट खानु पर्दथ्यो । तर त्यो ट्याबलेटले छोडेपछि हात खुट्टा दुख्न थाल्थ्यो, शरीर पुरै गल्थ्यो ।

सबै भन्दा बढी आमालाई सम्झिए
सबै भन्दा बढी आमालाई सम्झिए । नेपालमा आमाले सिन्कीसँग पनि भात खुवाएको याद आउथ्यो । पैसा नहुँदा मैले एक हप्ता जति चाउचाउ खाएर बसेँ । त्यति बेला घरमा आमाले गरिब नै भएपनि नुनसँग भात खुवाएको याद आउथ्यो ।

ग्राहकले दिएको टिप्स जम्मा पारेर खानेकुरा किनेर खानुपर्ने, कपडाहरु किन्नुपर्ने हुन्थ्यो । जब आमाको याद आउथ्यो त्यति नै धेरै रुन्थे । नेपाल आइसकेपछि दशैंमा घर गएँ । जब आमालाई भेटेर सबै कुरा गरेँ । आमा पनि रुनुभयो, म पनि निकै रोएँ ।

म घर नआएपछि आमाले कति धेरै खोज्नु भएछ । खोज्दा खोज्दा नभेटेपछि छोरी आउँदिन भनेर आश मार्नुभएको रहेछ । जब ज्योतिको घरमा आएपछि अहिले कुनै डर छैन् मलाइ ।

बेच्नेको मृत्यु हुँदा खुसी भए
म नेपालमा फर्किएपछि मलाई बेच्नेलाई जेल हाल्ने सोचेकी थिएँ । तर मलाइ त्यहाँ लगेको एक महिनापछि त्यो मरेको खबर थाहापाएँ । कार दुर्घटनामा मरेको रहेछ । फोटो पनि हेरेँ त्यस दिन निकै खुसी भएँ । तर त्यसका अरु साथीहरु म जस्तै साना साना नानीहरुलाई अझै पनि खोज्न आउँछन् होला त्यो चाहिँ पीर लाग्छ ।

चेलिबेटी बेच्नेलाई फाँसी दिने कानुन बनोस
मजस्ता धेरै नेपाली चेलिबेटीहरु त्यहाँ यस्तो काम गरेर बसेका छन् । बेलाबखत चेलिबेटी बेच्नेहरु पक्राउ परेको भन्ने समाचारमा सुनेको छु । नेपालमा चेलिबेटी बेच्नेलाई मार्ने कानुन बन्नुपर्छ । मजस्तै बेचिएर त्यहाँ रहेका दिदीबहिनीहरुलाई नेपाल फर्काउन पहल होस् । मैलेजस्तै पीडा अरुले खेप्न नपरोस ।

प्रहरीले नाकामा राम्रोसँग चेक गरेको भए म बेचिनुपर्दैनथ्यो । प्रहरीहरुले पनि राम्रोसँग काम गर्नुपर्छ । मैले काम गरेको ठाउँमा पनि त्यहाँको प्रहरी त आउँथे । प्रहरी भित्र छिरेलगत्तै माथिल्लो तलामा घण्टी बज्थ्यो । त्यसपछि हामीभन्दा ठूला ठूला दिदिहरुले हामीलाई सानो कोठामा लगेर लुकाउँथे । प्रहरी नै मिलेका हुँदा रहेछन् ।

मलाई पनि आएर एक दिन सोधपुछ त गरेको थियो तर केही पनि गरेन । जे होस् नेपाल आउन पाएँ आफूलाई भाग्यमानी ठानेकी छु । संयोगले गर्दा म आज ज्योतिको घरको पहलमा नेपाल फर्किए ।  मैले पढ्न पाए । माया पाए । सबै कुरा पाएको छु ।