१६ चैत, काठमाडौं।

भारत गैरहने र चीनसँग सम्बन्ध बिगारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अप्ठ्यारो पार्ने परराष्ट्रमन्त्री प्रकाशशरण महतले बेइजिङ पुगेर देशको हुर्मत लिएका छन्। सकेसम्म चीनसँग सम्झौता नगर्ने र गर्न नदिने उद्धेश्य बोकेका महत पहिले प्रधानमन्त्रीसंग चीन जान तयार थिएनन्। तर, जब परराष्ट्रमन्त्री वाङ यी त्यो बेला अष्ट्रेलियामा रहने सुइँको पाए तब चीन जान कस्सिए।

जे-जस्तो उद्धेश्य लिएर उनी चीन पुगेका थिए उसैगरी उनको कामलाई सञ्चार माध्यमले पर्दाफास गरिदिएका छन्। हाइनानमा आयोजित बोआओ फोरमका कतिपय क्षेत्रमा उनले प्रधानमन्त्री दाहाललाई ओभरटेक गर्दै बोलेका थिए। बेइजिङ पुगेकै दिन नेपाली दूतावासमा आयोजित कार्यक्रममा त झनै गाईजात्रा देखाए । महत प्रधानमन्त्री र राजदूत लीलामणि पौडेलसंगै मञ्चमा राष्ट्रगान बज्दा उभिएका थिए। राजदूतले दाहिने हात देब्रे छातीमा राखेर राष्ट्रगान गुन्गुनाए भने प्रचण्ड सतर्क पोजिसनमा उभिए । तर, परराष्ट्रमन्त्री महतचाहिँ केही चपाउँदै थिए। सम्भवत: उनी मञ्चमा जानुअगाडि बदाम अथवा पकौडा खाँदै थिए र हतारहतार जाँदा एकाध मीनेट पनि मुखको खानेकुरा नचपाई बसिरहन सकेनन्। राष्ट्रगान बज्दा कुन अवस्थामा रहनुपर्छ भन्ने कुरा पनि हेक्का राखेनन्। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।

त्यति मात्र होपन , प्रधानमन्त्रीले छुट्टै कोठामा विभिन्न तहका चिनियाँ प्रतिनिधिसंग छलफल गर्दा मोबाइल खेलाएर बसेका थिए। सबैभन्दा बढी उनी आइतबार बेइजिङ फरेन स्टडी विश्वविद्यालयको कार्यक्रममा चिप्लिए ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा सहभागी जनआस्थाका एक जना शुभेच्छुकले मंगलबार ल्हासाबाट बताएअनुसार प्रचण्डभन्दा अगाडी बोलेका महतले चुनाव प्रसारजस्तो अन्टसन्ट बोलेर गाईजात्रा देखाए। परराष्ट्रमन्त्रीको हैसियतमा के बोल्ने र के नबोल्ने भन्ने पनि ख्याल गरेनन्। चीनले अगाडि सारेको वन बेल्ट वन रोड कार्यक्रममा नेपाल सहभागी हुन्छ भन्ने आवश्यकता पनि देखेनन्। बरु नेपालको विकासमा चीनजत्तिकै भारतको पनि महत्व रहेको बताए। महतको यस्तो बोली अन्जानमै चिप्लिएको थियो अथवा जानाजानी भारतलाई खुसी बनाउन बोलेका थिए त्यो त उनैले जान्ने कुरा हो।