रसुवा, २४ साउन । पहिरोमा परी बेपत्ता भएका तीनजनाको शव आज फेला परेको छ ।

उत्तरगंगा गाउँपालिकाको पहिलेवेसीमा सोमबार गएको पहिरोमा पुरिएर बेपत्ता भएका स्थानीय मुना थापामगर, रवीन्द्र थापामगर र भक्तबहादुर नागरकोटीको शव आज फेला परेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए । मृतकमध्ये नगरकोटी तत्कालीन जिल्ला पञ्चायतका उपसभापति हुन् ।

यसैगरी आज बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले पहिरो गएको क्षेत्र पहिलेवेसीबाट अन्यत्र सारिएका ४० घरपरिवारलाई बत्ती, पानी, खाद्यन्न, भाँडाकुडालगातय आधारभूत वस्तुको व्यवस्था मिलाउन जिल्लामा कार्यरत सरकारी एवं गैरसरकारी निकायलाई आग्रह गरेको छ ।

चीनद्वारा खाद्यन्न सहयोग

यसैबीच जिल्लामा घटेको दैवी प्रकोपको घटना र सम्भावित विपद्लाई मध्यनजर राखी चीनको केरुङका अधिकारीले आज रसुवालाई खाद्य सामग्री हस्तान्तरण गरेका छन् ।

प्रजिअ न्यौपानेका अनुसार चीनले २० बोरा चामल र केही प्याकिङ गरिएको खाद्य समाग्री उपलब्ध गराएको हो । प्राप्त खाद्य सामग्री आवश्यकता बमोजिम विपद्मा परेका स्थानमा वितरण गरिनेछ । रासस