८ फागुन, काठमाडौं ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बैशाख मसान्तसम्म स्थानीय तहको चुनाव गर्ने गरी मिति घोषणा गर्ने तयारीमा पुगेका छन् । दुई दलबीच बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा यस्तो सहमती भएको हो । त्यसका लागि एक हप्ता भित्रै मिति घोषणा गरिने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले नेपाली हेडलाइन्सलाई जानकारी दिइन ।

आजै चुनावको मिति घोषणा गर्ने भनिए पनि स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन बुझेर निर्वाचन आयोग छलफल छलफल गरेपछि मात्र मिति घोषणा गर्ने तयारीमा पुगेकाले मिति घोषणा हुन ढिलाई भएको हो । त्यस्तै मधेसी मोर्चाका माग सम्बोधन गर्ने गरी संविधान संसोधन गर्नु पर्ने भएपनि त्यसमा दलहरु सहमत नभएकाले मिति घोषणा हुन सकेको छैन ।

निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने र संविधान संशोधन प्रक्रिया पनि अघि बढाउने भुसालले जानकारी दिइन । त्यसका लागि दुई दलबीच बेलुका फेरी छलफल हुने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । प्रधानमन्त्री सिरहामा हुने कार्यक्रमबाट फर्के पछि बेलुकी छलफल हुने भनिए पनि समय तोकिएको छैन ।

मधेसी मोर्चालाई सहमतीमा लिएरै मिति घोषणाको प्रयास हुने नेताहरुले बताएका छन् । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेताहरु शशांक कोइराला, विमलेन्द्र निधि तथा माओवादी केन्द्रबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, मातृका यादव लगायत सहभागि थिए ।