१२ भदौ, भक्तपुर।

जनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेतखेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् ।

वर्षा गराउने दूत तथ प्राकृतिक देवताका रूपमा मानेर यहाँका कृषकले भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाई यो परम्परा मनाइँदै आएको छ । भ्यागुतालाई भोजन गराउने यहाँको प्रचलनलाई स्थानीय नेवारी भाषामा ब्याँजा नकः वनेगु भन्ने गरिन्छ ।

खेतमा किरा मारेर अन्न उब्जाउनसमेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेतखेतमा गई पूजा तथा भोजन गराउने परम्परा रहेको किसान बताउँछन् ।

रोपाइँको समयमा र वर्षात् सुरु हुनुभन्दा पहिले खेतमा काम गर्दा कोदालीबाट मरेका किरा फट्याङ्ग्रा र भ्यागुतालाई मारेको पाप मोचन गर्नका लागि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको संस्कृतिकर्मी ओम धौभडेल बताउँछन्।