८ मंसिर, भक्तपुर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा निर्वाचन आचारसंहिता उल्लंघन बढेको छ । निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा तुल झुण्ड्याउने, ब्यानर र झण्डा राख्ने क्रम बढेको हो ।

निर्वाचन कार्यालयका प्रमुख उमेश राईले आयोगले जारी गरेको आचारसंहिता विपरीत विभिन्न दललाई जिल्लाका अधिकांश क्षेत्रमा राखेका तुल तथा ब्यानर हटाउन र अब नटाँस्न निर्देशन दिए पनि निर्देशनको अवज्ञा गर्दै आएको बताए ।

चुनावी मैदानमा उत्रिएका नेकपा (एमाले), नेपाली काँग्रेस, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी लगायतका दलले आचारसंहिता उल्लंघन गरेको कार्यालयको भनाइ छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोगले कालोसूचीमा राख्नेदेखि रु एक लाखसम्म जरिवाना गर्न सक्ने तथा उम्मेदवारको उम्मेदवारी खारेजसमेत गर्नसक्ने अधिकार आयोगलाई छ ।

यसैगरी लगातार आचारसंहिता उल्लंघन गर्नेलाई आगामी पाँच वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्नसक्ने व्यवस्था पनि छ । रासस