“जय श्रीराम” नाम जपेपछि जस्तोसुकै विपदबाट पनि मुक्ति मिल्ने हिन्दु धर्मावलम्बीहरूको विश्वास रहेको छ। यसरी नै रामायण ग्रन्थमा रामभक्त वानर हनुमानले पनि हरेक काम गर्दा श्रीरामको नाम जप्ने गर्दथे, चाहे त्यो लक्ष्मणलाई बचाउनको लागि सिङ्गो पर्वत उठाउँन होस्, या दैत्यहरूसँग युध्द गर्दा होस्। भगवान श्रीरामको नाम जप्दा हनुमानलाई कुनै पनि शस्त्रअस्त्रले छुन सक्दैनथ्यो।
यस्ता थुप्रै रोचक कथा र प्रसङ्गहरू समावेश भएको हिन्दु धर्मको पवित्र ग्रन्थ रामायणमा भक्तिको शक्ति ठूलो हुन्छ भनेर देखाउन खोजिएको छ।
यहि प्रसङ्गमा कुरा गर्दाः
रामायणमा हनुमानलाई भगवान रामले मृत्युदण्ड दिएका थिए…
१४ वर्षको बनबासपछि, भगवान राम राजा बनेका थिए। राजाको अदालतमा काम चलिरहेको बेला सबै साधु, सन्त तथा देव-देवताहरूको प्रस्थान भएको थियो। त्यतिबेला, ऋषि नारदमुनिले हनुमानलाई पूर्व राजा विश्वामित्रबाहेक अरू सबै सन्तमहाजनलाई प्रणाम गर्नु भनेर उपदेश दिएका थिए ।
हनुमानले नारदमुनिको उपदेशलाई पालना गर्दै विश्वामित्रलाई प्रणाम गरेनन। सबै गतिबिधी जाँच्नको लागि जब नारदमुनि विश्वामित्रलाई भेट्न गए, तब विश्वामित्र असाध्यै क्रोधित भए। उनले रामलाई हनुमानलाई मृत्युदण्ड दिन आदेश दिए। रामले उनको आदेशलाई नकार्न सकेनन्। हनुमानलाई राम आफैले धनुषवाणले हानेर मृत्युदण्ड दिने घोषणा गरे।
रामले धनुषवाण प्रहार गर्न लागे। तर ‘जय श्रीराम’ जपिरहेका हनुमानलाई कुनै क्षति पुर्याउन सकेनन्।
भगवान रामले आफ्ना गुरुको आदेश पालना गर्नुपर्ने भएकाले, हनुमानलाई ब्रह्मास्त्र प्रहार गर्ने निर्णय गरे। ब्रह्मास्त्र सबैभन्दा शक्तिशाली हतियार थियो र प्रहार पनि गरे। तर रामको नाम जप्दै गरेका हनुमानलाई ब्रह्मास्त्रजस्तो शक्तिशाली शस्त्रले पनि कुनै असर गर्न सकेन।
यस्तो देखेपछि, हैरान नारदले आफ्नो गल्ती स्वीकार गर्दै विश्वामित्रसँग माफी मागेका थिए र मृत्युदण्डको निर्णयलाई फिर्ता लिन आग्रह गरेका थिए।
हनुमानले आफ्नो शरीरभरि सिन्दूर किन लगाए?
एकचोटि सीता माताले आफ्नो सिउँदोमा सिन्दूर लगाउँदै गर्दा हनुमानले देखे र त्यसको कारण सोधे। सीता माताले आफ्नो पति रामको लामो उमेर र सु-स्वास्थ्यको कामनाको लागि नै सिन्दूर लगाएको बताएपछि, रामभक्त हनुमानले ‘एक चिम्टी सुन्दूर लगाउँदा भगवान रामको आयु बढ्दछ भने म पुरै शरीरभरि नै सिन्दूर लगाउँछु!’ भनेर निर्णय गरेका थिए।