हिन्दु धर्मको महाकाव्य ‘महाभारत’मा यो उल्लेख गरिएको छ कि, भगवान श्रीकृष्ण आफ्ना भक्तजनहरूको मद्दतको लागि सँधै आफै दौडिन्छन्। कसैलाई पनि पक्षपात गर्दैनन्। जसको सहायतामा पनि उनी स्वयं प्रस्तुत हुन्छन्।
राजा अकबरलाई यो कुराले साह्रै रनभुल्लमा पारेको थियो। आफु इस्लाम भएको कारणले कृष्णको महिमागान उनले बुझेका थिएनन् त्यसैले एक दिन उनले आफ्ना महामन्त्री बीरबल, जो एक सच्चा हिन्दु थिए, उसलाई बोलाए र सोधे- “तिम्रा भगवानहरू किन यस्तो असामान्य व्यवहार गर्छन्? के तिम्रा कृष्ण भगवानका अन्य सेना तथा देवसेना छैनन् र? यदि छन् भने सँधै भक्तहरूको मद्दत गर्न कृष्ण किन आफै दौडिन्छन् त? अरूलाई आदेश दिएको भए पनि त हुन्थ्यो!”
“हुजूरको कुरा त ठीकै हो, तर….”
“तर के?” अकबरले कड्किँदै सोधे।
“तर… यो कुरा बुझाउनको लागि हजुरले साँझसम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ।”, बीरबलले भने र अकबर पनि राजि भए।
अकबरलाई यो कुरा बुझाउनै पर्यो भन्ने बीरबलले निर्णय गरिसकेका थिए। उनलाई यो पनि थाहा थियो कि राजा अकबर आफ्ना नातिलाई असाध्यै माया गर्छन्। त्यसैले उनले एक मूर्तीकारलाई राजा अकबरका नातिको मूर्ती बनाएर त्यसलाई दुरुस्तै राजाका नातिकै जस्तै पहिरन लगाइदिन आदेश दिए।
बीरबले राजाका नातिको सेवकलाई पनि यो आदेश दिएका थिए कि साँझको बखत त्यस मैनमूर्तीलाई लिएर तलाउतर्फ लाग र उनको ईसारा पाएपछि त्यस मूर्तीलाई तलाउमा खसालिदेऊ।
साँझ भयो र राजा अकबर आफ्नो प्रश्नको उत्तर पाउन आतूर थिए। उनलाई आफ्ना महामन्त्री बीरबलप्रति पनि पूरा विश्वास थियो कि उनले आफ्नो प्रश्नको उत्तर दिनेछ। त्यसैले राजा अकबर बीरबलसँग दरबार बाहिर निस्किएर नजिकैको तलाउनेर पुगे।
त्यहाँ पुग्नेबित्तीकै बीरबलले सुटुक्क उक्त सेवकलाई ईसारा दिए र सेवकले पनि राजाका नातिको मूर्तीलाई तलाउमा खसालिदिए। तालमा डुब्दै गरेको त्यस वस्तु आफ्नै नाति जस्तै देखेर राजा अकबर आत्तिँदै तलाउमा हामफाले र छिटछिटो पौडिँदै आफ्ना नातिलाई बचाउन पुगे। जब उनले आफ्ना नातिलाई समाते तब उनले थाहा पाए कि त्यो त केवल एक मैनमूर्ती हो।
यत्ति नै बेला बीरबलले उत्सुक हुँदै सोधे- “हुजूर! यस्तो लीलाको लागि क्षमा गर्नुहोला! तर हुजूर यो बताउनुहोस् कि हजुरको पनि कति धेरै दासहरू थिए, म थिएँ, तैपनि हजुरको नातिलाई बचाउन हजुर आफै किन तलाउमा हामफाल्नुभयो?”
“मेरो नातिको जीवन मेरो लागि अमूल्य छ बीरबल! हो मसँग हजारौँ दासहरू छन्, तैपनि मेरो मनले मानेन, म आफै हामफालेँ!”, अकबरले भने।
“बुझ्नुभयो त हुजूर श्रीकृष्णको लीला? मेरा भगवान श्रीकृष्ण पनि आफ्ना सबै भक्तहरूलाई बराबर माया गर्छन्। त्यसैले हरेकको मद्दतको लागि वहाँ आफै पाल्नुहुन्छ।” बीरबलले भने र राजा अकबरले पनि आफ्नो चिन्तामूलक प्रश्नबाट मुक्ति पाए।