१८ जेठ, काठमाडौं ।

तत्काल भरतपुरको रोकिएको मतगणना शुरु गर्नु पर्ने माग गर्दै नेकपा एमालेको चितवन काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा प्रदर्शन गरेको छ । मञ्चले काठमाडौंको माइतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म नारावादी सहित प्रदर्शन गरेको हो ।

विरोध सभालाई सम्बोधन गर्दै एमाले नेता सुरेन्द्र पाण्डेले तत्काल मतगणना शुरु नगरे असार १४ गते हुने दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिए । निर्वाचन आयोगले छानविनका लागि समिति बनाए पनि समितिले सत्तारुढ दलहरुकै पक्षमा निर्णय गर्ने सम्भावना रहेको भन्दै आफूहरुलाई त्यो निर्णय मान्य नहुने नेता पाण्डेको भनाई छ ।

उनले भने, ‘जनताले दिएको मतलाई स्वीकार गर्न एमाले तयार छ, तर त्यसैलाई बंग्याउने गरि, तोडमोड गरि नतिजा आफ्नो पक्षमा पार्ने षड्यन्त्र गरिए त्यो एमालेलाई स्वीकार्य हुने छैन ।’

न्यायको लडाईमा एमाले रहेको दावी नेता पाण्डेले अहिलेको लडाइमा पनि आफ्नो पार्टीको जित हुने बताए । सत्तारुढ दल कांग्रेस र माओवादीप्रति तिव्र आक्रोश पोख्दै उनले सरकारले निर्वाचन आयोगलाई समेत प्रभावमा पारेको आरोप लगाए ।

उनले भने, ‘कतिपय बुथमा प्रहरीलाई समेत भित्र नराखी, एक दुई जना म्यादी प्रहरी र आफ्ना पक्षका निर्वाचन अधिकारीलाई राखेर धाँधली गरिएको छ, अहिले पनि त्यस्तै घट्ना दोहोर्याउने प्रयत्न भईरहेको छ, त्यो कदापि सफल हुँदैन ।’

एमालेका स्थायी कमिटी सदस्य छबिलाल बिश्वकर्माले अहिलेको घट्ना चितवनको भएपनि यो सिंगो देशको लडाई भएको बताए । उनले तत्काल मतगणना नगरि फेरि मतदान गर्ने स्थिती सिर्जना भए सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिए ।

प्रदर्शनका क्रममा एमाले कार्यकर्ताहरुले मतगणना तत्काल सुचारु गराउन माग गर्दै सरकारबिरुद्ध नारावाजी गरेका थिए ।