१३ असार, काठमाडौं ।

चितवनको भरतपुर महानगरपालीका वडा नम्बर १९ का च्यातिएको मतपत्र आज सर्वाेच्च अदालतमा पेश गरिने भएको छ । जिल्लाका राजनीतिक दलसँगको छलफलमा हिजो मतपत्र काठमाडौ पठाउने सहमती भएको थियो । त्यही सहमति अनुसार मतपत्र काठमााडौं पठाइएको चितवनका सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले जानकारी दिए ।

बिहान मतगणना स्थल कभर्डहलको शिल खोलेर त्यहीबाटै मतपत्र काठमाडौं पठाइएको हो । स्थानिय प्रशासनले मतपत्र च्यातिएको विषयमा माओवादी कार्यकर्तामाथि लगाईएको मुद्दाको फाईल र तत्कालिन अवस्थाको प्रहरीको प्रतिवेदन पनि पठाएको छ । प्रमुख जिल्ला अधिकारी नारायण भट्टले मुद्धाका सबै कागजात तथा प्रतिवेदनहरु पठाईएको जानकारी दिए ।

असार ६ गते सर्वाेच्चले एक साताभित्र सबै सक्कल प्रतिबेदन पेश गर्न भनेको थियो । सोही अनुरुप अन्तिम दिन आज सबै विवरण बुझाउन लागिएको हो । त्यसको अध्ययन गरी सर्वाेच्चले फैसला गर्नेछ ।

गएको जेठ १४ गते राती भरतपुर वडा नं. १९ को मतगणना जारी रहेको बेला मतपत्र च्यातिएको थियो । महानगरमा नेकपा एमालेका देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल प्रमुख पदको प्रतिस्पर्धामा छन् ।