विष्णु पौडेल

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा भरतपुर महानगरपालिका सबैको चासोको विषय बन्यो । चासो बन्नुको मात्र एक कारण थियो, रेणु दहालको उम्मेवारी । उनी प्रधानमन्त्री प्रचण्डकी छोरी थिइन् । यो चासोलाई अझै चर्चाको विषय बनायो सत्ताधारी दलको गठबन्धनले ।

सत्तामा रहेका माओवादी केन्द्र र काग्रेसबीचको तालमेलमा एमाले एक्लै थियो । यो चासो भएन । चासो थियो त प्रचण्डकी छोरी रेणुको । मेयरको उम्मेद्वारीसँगै रेणुले थुपै अपमान र अपजस सहनु पर्यौ । विरासत धान्न आएकी भन्दै उनको खिल्ली मज्जाले उडाइयो ।

राजकुमारीको नाम दिएर मानसिक रुपमा गिराउने काम प्रशस्तै भयो । यो निन्दनीय थियो । सचेत समाजमा पाच्य हुन नसक्ने तवरको विचलित सोचबाट अझै पनि हामी पर छैनौ भन्ने गतिलो उदाहरण भरतपुरका केहि शिक्षित जमातहरुका झुण्डहरुले दिए ।
निर्वाचनमा काग्रेस र माओवादी केन्द्रको मेयरपदको लागि साझा उम्मेद्वार भइन् रेणु । नेपाली कांग्रेसको समर्थन पाएपछि धेरै मतान्तरले रेणुको जीत हुन्छ भन्ने सामान्य मतदाताको आकंलन थियो ।

भरतपुरमा देवी वा रेणु जसले जीते पनि लोकतन्त्र हारेको छ । केहि दिनपछि जीतको उन्मातमा अविरजात्रा हुनेछ । लोकतन्त्र जिन्दावादको नारा लाग्ने छ । अविरभित्र, नाराभित्र लोकतन्त्र उपहास गरिने छ अनि भनिने छ ‘यो जीत कस्को ? जनताको !’ 

मतगणनाको नतिजा आउँदै गर्दा ठिक विपरित एमालेका उम्मेद्वार देवी ज्ञवालीको पक्षमा बढी मत आयो । भरतपुरको चुनावी सभामा प्रधानमन्त्री प्रचण्डले भने झै रेणुको पक्षमा मत आएन । यो यसकारण पनि स्वभाविक थियो चुनावी तालमेल प्रति काग्रेसको केन्द्रिय तहको एक समूह सन्तुष्ट थिएन । त्यसको प्रभाव मतपत्रमा देखियो ।

मतगणना हुदै गर्दा अनेकन आशंकाहरु भए । रेणुको पक्षमा मत बलियो हुँदै गएपछि एमालेजनहरुले रातारात धाधंली भयो भने । देवीको मतान्तर बढे पछि गठबन्धनले शंका गर्यो । आरोप प्रत्यारोपसँगै शंकाको घेरामा अन्तिम चरणको मतगणना हुदै थियो ।

७ सय ३३ मतले ज्ञवालीको अग्रता थियो । यहि बीचमा एकाएक मत पत्र च्यातिएको खबर छरपष्ट भयो । निर्वाचन प्रमुखले शौचालय गएको भनी गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिए । प्रहरी प्रशासनले माओवादी केन्द्रका दुई जनालाई प्रकाउ गरि अनुसन्धान बढाएको छ ।

एमालेका एक जनालाई प्रकाउ गर्यो, पछि छोडिदियो । अनि शुरु भयो विज्ञप्ती मार्फत दलहरुबीचको लडाई । रातदिन सूचना दिन खटिएका पत्रकारहरु विवादको घेरामा तानिए । जो स्वतन्त्र थिए ।

प्रहरीले गोली हान्ने आदेश समेत दियो । थप २ सय भन्दा बढी सुरक्षा फौजको निगरानीमा मतदान पेटीलाई घेरा हालिएको छ । माहोल एकाएक बिथोलियो । दुईवटा वडाको मत गणना मात्र बाँकी थियो । हार सहन नसक्ने शक्तिले मत पत्र च्यायो ।

माओवादीले मतपत्र च्यातेको भन्दै एमाले सडकमा नारावाजीमा उत्र्यो । गठबन्धनमा रहेका पार्टीले विज्ञप्ती निकालेर एमालेको आरोप उसैतिर फर्काइदिए । गल्ती कस्को हो, आधिकारिक रुपमा बाहिर आइसकेको छैन । गल्ती जसले गरेको होस्, अन्तीम अबस्थामा आएर मत च्यात्नु हार स्वीकार्न नसक्नु हो ।

अन्तिम समयमा आएर मत च्यातिएको होइन मतपत्र योजना मुताविक च्यातिएको हुनु पर्छ । लोकतन्त्रमा यो मान्य हुनै सक्दैन । आफ्नो पक्षमा मत नआए पछि मतपत्र नै नक्कली हो की भन्ने मानसिकताको थोरै अंशले यहाँ काम गरेको देखिन्छ । जहाँ जनताको मतको कदर हुन सक्दैन भने त्यहां लोकतन्त्रको नारा वेकार छ ।

लोकतन्त्रको मेरुदण्ड भनेकै निवार्चन हो । जनताको मतले चुनिने प्रतिनिधि नै लोकतन्त्रका संचालक हुन् । यसको प्रत्याभूती जनताले पाउनु पर्छ । भरतपुरमा भएको यो घटना लोकतन्त्र माथीको प्रहार हो । कुनै दल वा तीनका कार्यकर्तालाई जनताको अमुल्य मत च्यात्ने अधिकार छैन ।

यो संक्रृण सोचको उपज हो । मतपत्रमा लगाइएको छाप नै हार र जीतको कारण हो । कुनै पार्टीले छापेको चुनावी नारा होइन मतपत्र । जो सडकमा हावामा उडाइन्छ । भित्ता भित्तामा टाँसिन्छ । चना चटपटे बेच्न प्रयोग गरिन्छ । त्यहाँ त लोकतन्त्र लुकेको हुन्छ । जनताको भावना साटिएको हुन्छ । जनताको अधिकार समेटिएको हुन्छ ।

त्यहि जनताको मत पाएर सिंहदरवारमा बस्ने अनि आफु अनुकुल आफन्त वा आफ्नो प्रतिनिधिको पक्षमा भोट आएन भनेर मत नै च्यात्ने यो कस्तो लोकतन्त्र ! कुन संस्कारको विकास गर्न खोजेका छौ हामीले ? कुन युगको प्रतिनिधित्व गर्नको लागि युवाहरुलाई उस्साहित गरिरहेका छौ ?

अलोकतान्त्रिक गतिविधिलाई निरुत्साहित नगर्ने हो भने निशन्देह एक दिन निरङ्कुशताले जन्म लिनेछ । त्यसको जिम्मेवार वर्तमान नेतृत्वले लिनैपर्छ । भरतपुर घटना प्रतिनिधी हो । हामीकहाँ पावरको हिसावले निर्वाचन जित्ने परिपाटी छ ।

यदि नहुदो हो त आपराधिक समूहमा मुछिएका संजय शाह, प्रहरीको मोष्ट वाण्टेट सुचीमा रहेका बबन सिहंहरु सांसदको विल्ला भिरी संविधानसभा भित्र छिर्ने थिएनन् होला । सकेसम्म, भ्यायसम्म पावरको हिसावले सवै दलले बन्द मतपेटीका साटेका कयौ उदाहरण छन् नेपालमा । यसबाट न काग्रेस, न एमाले न त माओवादी नै अछुतो छ ।

पछिल्लो पटक बामे सर्न लागेको लोकतन्त्रलाई भरतपुरमा हत्या गर्ने प्रयास भयो । जती नै शव्दमा निन्दा गरे पनि त्यो कमि नै हुन्छ । भरतपुरमा देवी वा रेणु जसले जिते पनि लोकतन्त्र हारेको छ । केहि दिनपछि जितको उन्मातमा अविरजात्रा हुनेछ । लोकतन्त्र जिन्दावादको नारा लाग्ने छ । अविरभित्र, नाराभित्र लोकतन्त्र उपहास गरिने छ अनि भनिने छ ‘यो जित कस्को ? जनताको !’