११ जेठ, काठमाडौं ।

भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली र रेणु दाहालबीचको मतान्तर घट्ने क्रम जारी नै रहेको छ । वडा नं. २५ सम्मको मत गणना सकिदा एमालेका उम्मेद्वार ज्ञवालीले ३० हजार ६ सय ८२ मत ल्याएका थिए भने माओवादीकी रेणु दाहाललाई २८ हजार ९ सय ३३ मत प्राप्त भएको थियो ।

ज्ञवाली र दाहालबीच एक हजार ७ सय ४९ मतको अन्तर थियो । आज वडा नम्बर १५ मा प्रारम्भीक नतिजा अनुसार रेणुले देवीलाई ११३ मतले उछिनेकी छन् । उनले ४६८ मत पाउँदा देवीले ३५५ मत पाए । यसअघिको १४ नम्बर वडासम्मको मत गणना सकिदा मतान्तर एक हजार ९ सय ६१ थियो ।

मंगलबारसम्म देवी ज्ञवाली माओवादी उम्मेद्वार रेणु दाहालभन्दा तीन हजार ८ सय ३६ मतले अगाडि थिए । हिजोदेखि मतान्तर निरन्तर ओरालो लाग्दै गइरहेको छ । भरतपुरमा अहिले वडा नं. १५ को मत गणना भइरहेको छ ।

उक्त वडाबाट कांग्रेसले ५८६, एमालेले ३४५ र माओवादीले २०७ मत प्राप्त गरेका छन् । र यो मतगणनासम्म आइपुग्दा ज्ञवाली र दाहालको मतान्तर १६३६ मा झरेको छ ।

१५ नम्बर वडामा मंगलपुर, फूलबारी, श्रीपुर जस्ता कांग्रेसको अत्याधिक मतदाताको बसोबास भएका गाउँहरू मानिन्छन् । अब वडा नं. १५ को पुरै गणनापछि पनि मतान्तर झनै घट्ने देखिन्छ ।

ताजा अवथामा एमालेका ज्ञवालीले ३१०३७ मत प्राप्त गरेका छन् भने दाहालको २९४०१ मत भएको छ ।

भरतपुरमा १९ वटा वडाको मत गणना सकिएको छ । जसमा एमाले १०, काँग्रेस ६ वडामा विजयी भएको छ र माओवादी तीन वटा वडाध्यक्षमा विजयी भएको छ । अब १० वटा वडाको मत गणना बाँकी छ ।

एमालेको राम्रो पकड भएका वडाहरुको गणना सकिएका कारण पार्टीका उम्मेद्वारहरुको पक्षमा अब उल्लेख्य मत आउने सम्भावना कम्जोर भएको कांग्रेसका नेताहरूले दाबी छ । तर गन्न बाँकी केही वडाहरुमा एमाले प्रतिस्पर्धामा आउन सक्ने र केहीमा जित्ने नै अवस्था रहेको नेताहरुले बताएका छन् ।