९ साउन, काठमाडौं ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको मुद्दामा आज पनि सुनुवाई भयो । धेरैको अपेक्षा थियो आज मुद्दाको फैसला हुन्छ र मुद्दाको टुंगो लाग्छ । तर सर्वाेच्चले आज पनि अनपेक्षित कदम चाल्दै पूरानै नियति दोहोर्यायो र सुनुवाई साउन १२ गतेलाई सरेको छ । हिजोदेखि बहस भएपनि आजपनि नभ्याइएपछि हेर्दाहेर्दैमा राखेर १२ गतेलाई सारिएको हो ।

हिजोदेखि शुरु भएको बहबाट आज अन्तिम फैसला आउने अनुमान गरिएको थियो । तर सरकारी वकिलले अध्ययनका लागि थप समय मागेपछि बहस फेरी पछि सरेको सर्वोच्चले जनाएको छ ।

आज महान्यायधिवक्ता रमणकुमार श्रेष्ठ लगायतले बहस गरेका थिए । भोली र पर्सी सर्वोच्चको समिक्षा बैठक भएकाले बेञ्च नबस्ने सर्वोच्चले जनाएको छ । न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशमा बहस भएको हो ।

भरतपुर १९ को विवादको पेसी तोकिएर पनि समय अभावको कारण देखाउँदै पटक पटक स्थगित हुदै आएको छ । आजसम्ममा ६ पटक सुनुवाइ तोकिएपनि अन्तिम फैसला हुन सकेको छैन ।

निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता रविनारायण खनाल, अधिवक्ता हरि फुयाँल, बाबुराम दाहाल, हरि उप्रेती, डा चन्द्रकान्त ज्ञवाली, विजयकान्त मैनाली, गोविन्द बन्दी, ईश्वरीप्रसाद भट्टराई र खिमलाल देवकोटाले भरतपुरमा च्यातिएको ९० मत बदर गर्नुपर्ने विषयमा बहस गरेका छन् ।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेकोमा आयोगको निर्णयविरुद्ध गत जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । लामो समयसम्म निर्णय नहुँदा भरतपुर महानगरको काम कारबाही प्रभावित भएको छ ।