२० साउन, काठमाडौं । चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
प्रहरीका अनुसार सबै ६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको हो ।

तर मत भने बैशाख ३१ गतेको भन्दा कम खसेको छ । त्यतिबेला २८ सय ९७ मत खसेकोमा आजको चुनावमा २७ मत कम अर्थात २८ सय ७० मत खसेको प्रहरीले जनाएको छ ।

मतगणना अन्तिम चरणमा पुगिरहँदा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना रोकिएको थियो । त्यसपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेपनि त्यसविरुद्ध रिट परेपछि सर्वोच्चले निर्णय सदर गरेपछि पुनः मतदान भएको हो । आजै बेलुकीबाट मतगणना अघि बढाउने तयारी गरिएको छ ।

मतदान अघि प्रमुख पदका एमाले उमेद्बार देबी प्रसाद ज्ञवाली र माओवादी केन्द्रकी उमेद्बार रेणु दाहाल दुबैले आफ्नो जितको दाबी गरेपनि मतदान पछि भने अनुमान लगाउन कठिन भएको छ । अहिलेसम्म एमाले उमेद्बार ज्ञवाली ७ सय भन्दा बढी मतले अगाडि छन् ।