५ कात्तिक, मेलम्ची । भाइटीकाको मौका छोपी सरकारले तोकेभन्दा बढी भाडा लिने सवारी साधनबाट मेलम्ची इलाका प्रहरी कार्यालयले भाडा फिर्ता गर्न लगाई गरी जरिवानासमेत तिराएको छ ।

काठमाडौँको जोरपाटीबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै नवलपुर गुडेको हेलम्बु यातायातको बा ३ ख १६६१ नम्बरको सार्वजनिक यातायातले यातायात व्यवस्था विभागले तोकेभन्दा छ गुणा बढीसम्म भाडा लिएको गुनासो आएपछि प्रहरीले सो सवारी साधनलाई रोकी भाडा फिर्ता गराएको हो ।

रू ११५ भाडा तोकिएको मेलम्चीसम्म रू ६०० सम्म भाडा उठाएको पाइएको थियो । सधैँ सवारी साधन सञ्चालन हुने नारायणटारस्थित बसपार्कबाट बस चढेर गएपछि बीच बाटोमा परिचालकले भने बमोजिमको भाडा मागेपछि यात्रुहरू आक्रोशित भएको यात्रु श्याम ढकालले बताए ।

यात्रुबाट सके जति भाडा उठाएको गुनासो आएपछि बस रोकेर यात्रुसँग सोद्धा पुष्टि भएकाले तोकिएजति भाडा राखेर अरु फिर्ता गराइएको प्रहरी जवान मनबहादुर पुलामीले जानकारी दिए । त्यस्ता सवारी साधनलाई रू एक हजार जरिवाना पनि गराइएको प्रहरी हवल्दार एकबहादुर रोक्काले बताए ।

चाडबाडका दिन यातायात व्यवसायीले सार्वजनिक यातायातका काउन्टर नखोली बसपार्कबाटै यात्रु लिएर मनपरि भाडा उठाउने गर्दा पनि कारबाही भने हुन सकेको छैन । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सरकारले तोकेभन्दा रू एक मात्र बढी भाडा लिए पनि रू एक हजारदेखि पाँच हजारसम्म जरिवाना लिनसक्ने व्यवस्था छ ।

यातायात सधैँ चलाउनुपर्ने व्यवसाय भए पनि व्यवसायीले चाडबाडका नाममा सम्बन्धित मार्गमा चल्ने बस होइन भन्दै मन लागे जति भाडा कुम्ल्याउने गरेका छन् । सिन्धुपाल्चोको पश्चिमी भेगमा हेलम्बु यातायात र आमा ह्योल्मो यातायातको एकाधिकार छ भने मध्य र पूर्वी भेगमा अरनिको यातायातको एकाधिकार छ ।

यातायातमा एकाधिकार नतोडिँदा यात्रु भने मारमा पर्दै आएका छन् । भाइटीका लगाएर काठमाडौँ फर्कने क्रममा आज हेलम्बु यातायातकै बा ४ ख २२१४ नम्बरको सवारी साधनले मेलम्चीदेखि जोरपाटीसम्म रु ११५ भाडामा रु १५० उठाएर ठगी गरेको यात्रु निर्मला घोरसैनीले बताए । यो सवारी साधनले मेलम्चीदेखि तीन किमी स्फटकेश्वरसम्मकै रु १०० भाडा असुलेको गुनासो गर्दै उहाँले विभागले सार्वजनिक यातायातमा अनुगमन गरी कारबाही नगर्दा विकृति मौलाएको बताए।

विभागका प्रवक्ता डा टोकराज पाण्डेले जुनसुकै दिन तोकिएभन्दा बढी भाडा लिने सवारी साधनलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरी सो मार्गको इजाजत खारेजसम्म गर्न सकिने व्यवस्था रहेको बताउछन् । चाडबाडका नाममा रू पाँच हजारसम्म जरिवाना गरे पनि अहिलेसम्म विभागले कुनै पनि सवारी साधनको मार्ग इजाजत खारेज नगरेको उनले जानकारी दिए । रासस