६ असार, नयाँदिल्ली । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले सवै भन्दा तल्लो जातको मानिने दलित समुदायको व्यक्तिलाई राष्ट्रपतिको उम्मेदबार बनाएको छ ।

पिछडिएको समुदायलाई अगाडी बढाउन भन्दै दलित समुदायका एक व्यक्तिलाई भाजपाले सोमबार राष्ट्रपति पदका लागि उम्मेदबारी दर्ता गर्न लगाएको जनाएको छ ।

मुलुकको सवैभन्दा माथिल्लो औपचारिक पदका लागि ७१ बर्षीय रामनाथ कोभिन्डले उम्मेदबारी दर्ता गराएका हुन । राज्यको सवैभन्दा उच्च पदमा यसअघि एक जना मात्रै दलित पुगेका थिए ।

बर्तमान राष्ट्रपति प्रणव मुखर्जीको अर्को महिना कार्यकाल सकिने भएकाले भारतमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन लागेको छ ।
राष्ट्रपति छनौट गर्न भारतमा केन्द्रीय र प्रदेश संसदका सांसदहरुले मतदान गर्ने व्यवस्था छ । सत्तारुढ दल भाजपाले आफ्ना उम्मेदवारलाई विजयी बनाउन सवैबाट आवश्यक सहयोग पाउने विश्वास लिएको छ ।

“रामनाथ केभिन्ड पहिले देखि नै संधै पिछडिएको समुदाय र दलित समुदायको उत्थानका लागि लडिरहनुभएका व्यक्ति हुनुहुन्छ,” भाजपाका प्रमुख अमित शाहले पार्टीको तर्फबाट उम्मेदबारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा भने ।
“तल्लो जात मानिने दलित र अति गरिब समुदायमा जन्मिएको व्यक्ति उनी राष्ट्रपति पदका लागि सर्वसम्मत उम्मेदवार हुन सक्नुहुन्छ भन्ने भाजपालाई विश्वास छ,” उनले थपे ।

सामान्यतया मथिल्लो समुदायका हिन्दुहरुको समर्थन गर्ने मानिने भाजपाले तल्लो जातका भनिने मतदाताहरुलाई पनि समर्थनका लागि देशव्यापी आह्वान गरेको छ ।

कोभिन्ड दुई पटकसम्म सांसद भइसक्नु भएको छ भने अहिले भारतको पूर्बी राज्य विहारमा गभर्नर हुन । उनले जीवनभरी हिन्दु राष्ट्रबादी पार्टी भाजपालाई समर्थन गरिरहेका छन ।

विपक्षीहरुको नेतृत्व गरिरहेको काँग्रेस पार्टीले मङ्गलबार कोभिन्डलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न उनलाई भेट्ने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै “खास प्रकारको राष्ट्रपति” बनाउन आह्वान गरेका छन । उनले दलित, तल्लो जात, पिछडिएको र गरिव समुदायको आवाजलाई समर्थनको निरन्तरताका लागि पनि अनुरोध गरेका छन ।

यसअघि दलित समुदायको तर्फबाट पहिलो राष्ट्रपति भएका के आर नारायननले सन् १९९७ देखि २००२ सम्म मुलुकको सर्वश्रेष्ठ पदको जिम्मेबारी सम्हालेका थिए । कोभिन्ड निर्वाचित भए भने उनलाई भारतको दलित समुदायले दोस्रो राष्ट्रपति प्रतिनिधित्व गराउने छ । रासस/एएफपी