६ फागुन, काठमाडौं ।
भारतीय हस्तक्षपको चर्को रुपमा विरोध गर्दै आएका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भारत भ्रमणबाट फर्किएपछि औधी खुसी देखिएका छन् ।

फाइल तस्बिर

श्रेष्ठले निकै प्रसन्नताको साथ भारत भ्रमण सोचेको भन्दा निकै उपलब्धिपूर्ण रहेको भन्दै पार्टी हेडक्वार्टरको बैठकमा व्रिफिङ गरेका छन् । भारत जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीलाई एकसाथ आफ्नो निवासमा गोप्य वार्ता गराएका श्रेष्ठले सोही दिन भारत भ्रमणमा गएका थिए ।

भारत भ्रमणको क्रममा श्रेष्ठले भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेका थिए ।

विहिवारको हेडक्वार्टरको बैठकमा श्रेष्ठले निकै प्रसन्न हुँदै नेपाल–भारतको सम्बन्ध समानताको आधारमा हुनुपर्ने धारणा स्पष्ट राखेको जानकारी बैठकमा गराएका थिए ।

श्रेष्ठको भनाई उदृत गर्दै एक नेताले भने, ‘मैले निकै स्पष्टसँग कुरा राखे, भारतीय नेताहरु पनि नेपालको हितमा नै हामीले साचेको जवाफ दिए ।’

श्रेष्ठले नेपाल–भारतबीच सम्बन्ध सुधार गरेर अगाडि बढ्नुको विकल्प नरहेको आफूले भेटको क्रममा राखेको बैठकमा जानकारी गराएका थिए । नारायणकाजी श्रेष्ठ अहिलेसम्म यति प्रसन्न भएको कहिले देख्न पाइएको थिएन, एक नेताले नेपाली हेडलाइन्सँग भने, ‘भारत गएपछि नेता श्रेष्ठले नै नयाँ उत्साह लिएर आउनु भएछ, हामीलाई पनि निकै आश्चार्य लाग्यो ।’

बैठकमा श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्डको आग्रह अनुसार दिल्ली गएको हो कि ? एमाले अध्यक्ष ओलीको दुत बनेर दिल्ली गएको हो ? भन्ने विषय पनि उठेको थियो ।

श्रेष्ठले ओली नेतृत्वको सरकार ढाल्न नहुने भन्दै अन्तिम समयसम्म प्रचण्डसँग आग्रह गरेका थिए । ओली नेतृत्वको सरकार ढालेर आफ्नै पार्टीको अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दा पनि श्रेष्ठ सन्तुष्ट हुन सकेका छैनन् । माओवादीका एक नेताका अनुसार भारतसँग चिसिएको सम्बन्ध सुधार गर्न पनि श्रेष्ठ भारत गएर नेताहरुसँग भेटघाट गरेका हुन् ।