८ चैत, एजेन्सी।

भारतको काग्रेस पार्टीका उपाध्यक्ष राहुल गान्धीले २७ चुनाव हारेका भन्दै मध्य प्रदेशमा इन्जिनियरिङ पढ्दै गरेका एक विद्यार्थीले गिनिज बुकलाई सम्पर्क गरेका छन् । विशाल दीवान नामका ती विद्यार्थी चाहन्छन् यो ‘रेकर्ड’ गिनिज बुकमा दर्ता गरियोस्।

एक भारतीय पत्रिकामा छापिएको खबर अनुसार, दीवान भन्छन् अघिल्ला ५ वर्षमा जहाँ-जहाँ राहुलले प्रचार गरेका छन् त्यहाँ-त्यहाँ कांग्रेसले हार व्यहोरेको छ। उनले गिनिज बुकलाई पत्र लेखेको र चाहिने शुल्क समेत तिरेको र गिनिज बुकले पनि उनको पत्र बुझेको बताइएको छ। तर गिनिज बुकले उनको निवेदन स्वीकार गरे नगरेको बारे भने केही बताएको छैन।

राहुल गान्धीले भाषण गर्दा गर्ने गल्तीलाई लिएर उनको मजाक गर्ने गरिन्छ। भाषण गर्दा गर्दै राहुल कहिले काहीँ अर्थै नलाग्ने पनि बोलिदिन्छन्।

युपी, उत्तराखण्ड, गोवा, मणिपुर र पञ्जाब (५ राज्य) मा भएको चुनामा कांग्रेसले ४ ठाउँमा हार बेहोरेको छ। केवल पञ्जाबमा कांग्रेसको सरकार बनेको छ। मणिपुर-गोवामा सबैभन्दा ठूलो पार्टी बन्दा पनि कांग्रेसको सरकार बन्न सकेन।

यी २७ राज्यमा राहुलको प्रतिनिधित्वमा कांग्रेसले हार बेहोरेको थियो।

सन् २०१२: यूपी, पञ्जाब, गोवा, गुजरात।
सन् २०१३: त्रिपुरा, नगाल्याण्ड, दिल्ली, राजस्थान, मध्य प्रदेश, छत्तीसगढ।
सन् २०१४: लोकसभा चुनाव, महाराष्ट्र, हरियाणा, झारखण्ड, जम्मू-कश्मीर, ओडिशा, आन्ध्र प्रदेश, तेलङ्गाना।
सन् २०१५: दिल्ली।
सन् २०१६: आसम, वेस्ट बङ्गाल, केरल, तमिलनाडु।
सन् २०१७: यूपी, उत्तराखण्ड। (मणिपुर, गोवामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्यो तर सरकार भारतीय जनता पार्टीले बनायो)