२६ जेठ, मकवानपुर ।

छिमेकी मुलुक भारतबाट भूकम्पपीडितका लागि आएको राहत सामग्रीमा प्रतिबन्धित चाउचाउ, कुहिएको खाद्यान्न, फाटेका कम्बल र कपडा आएका छन् ।

मकवानपुरको जिविस भवनमा राखिएको सामग्रीमा कुहिएको खाद्यान्न, प्रतिबन्ध लगाइएको चाउचाउ र च्यातिएका कपडा रहेको जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको कमान्ड पोष्टका अधिकृत सहदेव आचार्यले बताए । भारतले कोलकाताबाट सुख्खा बन्दरगाह हुँदै पठाएको राहत सामग्री कुहिएको र प्रयोगमा प्रतिबन्ध लगाएको फेला परेको छ ।

कुहिएको सामानसँगै नेपाल भारतमा प्रतिबन्ध गरिएको म्यागी चाउचाउ पनि पठाइएको छ ।

rahat bitaran (2)

फाइल तस्विर

राहतका नाममा पठाइएको खाद्यान्नमा कुहिएको आलु र प्याज भएको उनले जनकारी दिए । ती सामग्री ट्रकबाट अनलोड गर्दा कुहिएको गन्धले सशस्त्र र नेपाल प्रहरीलाई समस्या भएको उनको भनाइ छ । कुहिएको आलु र प्याजसँगै प्रतिबन्धित म्यागी चाउचाउ २३ कार्टुन पठाएको आचार्यले जानकारी दिए ।

भारतले पठाएको कम्बल पनि सबै च्यातिएका छन् । ५० वटा कम्बल पठाएकामा सबै प्रयोग भइसकेका र च्यातिएका छन् । जुस, जाम, चिउरा लगायत सामान पनि कुहिएको आचार्यले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

मकवानपुर प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले भारतबाट आएको राहतको खाद्यान्न कुहिएको र प्रतिबन्ध लागेको सामान भएको बताए । चार ट्रक सामान कोलकाताबाट आएकोमा आइतबार एक ट्रक मकवानपुरमा राखिएको हो । अरु तीनवटा ट्रकमा ल्याइएको त्रिपाल भने मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको आपतकालीन उद्धार केन्द्रको गोदाममा राखिएको छ ।