एजेन्सी । भारत र चीनबीच डोक्लाम विवाद अझै चर्किने देखिएको छ । चीनले डोक्लमबाट आफ्ना सैनिक फिर्ता गर्न भारतलाई आग्रह गरेपनि अटेर गरेपछि विवाद चर्किने देखिएको हो ।

भारतपछि नहटेपछि चीनले १५ पृष्ठ लामो दस्तावेज जारी गर्दै आप्नो विवाद भूटानसित भएको भन्दै भारतलाई सैनिक फिर्ता गर्न भनेको हो । भारतले भूटानलाई एक बहानाका रुपमा मात्र प्रयोग गरेको आरोप लगाउंदै चीनले चीन र भूटानबीच कुनै बिवाद भए त्यो दुई देशको बीचमा मात्रै रहनुपर्ने र भारतको त्यसमा कुनै भूमिका नहुने स्पष्ट पारेको छ ।

भारत यो मुद्दामा तेस्रो पक्षका रुपमा प्रस्तुत भएको भन्दै चीनले डोकलामको बहानामा भारत जसरी प्रस्तुत भईरहेको छ त्यसले चीनको सम्प्रभुतालाई मात्र नभई भूटानको स्वतन्त्रता र सम्प्रभुतालाई समेत चुनौती दिईरहेको जनाएको छ ।

यसैबीच चिनियाँ परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले चीनले किन यस्तो दस्तावेज जारी गरेको र अहिलेकै समय किन रोजिएको भन्ने प्रश्न गरेका थिए ।

पत्रकारको प्रश्नमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले भने ‘गत जुन १८ तारिख भारतीय सीमा सुरक्षा बलले डोक्लमस्थित चीन–भारत सीमा क्षेत्र उल्लंघन गरी चीनको भूखण्डमा प्रवेश गरेको र हालसम्म भारतीय सेना अवैध रुपमा चीनको भूखण्डमा रहिरहेकाले चीनले कूटनीतिक तरिकामार्फत भारतसमक्ष गम्भीर आपत्ति उठाउँदा पनि भारतले टेरेको छैन ।’

चीनले भारतीय हेपाहा प्रवृतिको कडा शब्दमा निन्दा गरेको प्रवक्ता कङले बताए ।आफ्नो भूमिको रक्षा गर्न चीन सक्षम भन्दै विज्ञप्तिमा कुनैपनि देशले आफ्नो सम्भप्रभुतालाई चुनौती दिन नसक्ने बताएको छ ।