१२ जेठ, एजेन्सी।

अमेरिकी गुप्तचर संस्था सीआईएले भारत पाकिस्तान सीमा क्षेत्रमा युद्ध हुनसक्ने चेतावनी दिएको छ । सिआइएका प्रमुखले अमेरिकी कंग्रेसमा परमाणु शक्ति सम्पन्न दुवै छिमेकी देशबीच सीमा क्षेत्रमा भैरहेको गोलाबारीले संघर्षको रुप लिनसक्ने चेतावनी दिएका हुन ।

पाकिस्तानले सीमा क्षेत्रमा गरेको आक्रमणको बदलामा भारतले पनि आक्रमण गर्नसक्ने चेतावनी सीआईएको छ । अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको बैठकमा सिआइए प्रमुखले गत बर्ष भारतमा भएको दुई चरमपन्थी आक्रमणपछि तनावपूर्ण बनेको सम्बन्ध यो वर्ष विग्रन सक्ने भन्दै चिन्ता जनाएका हुन ।

भारतमा कुनै प्रकारको आतंकवादी आक्रमण भए यो अवस्था झनै बिग्रन सक्ने सिआइएको निस्कर्ष छ । भारतले लामो समयदेखि आफ्नो भूमिमा हुँदै आएको चरमपन्थी हमलाको योजना पाकिस्तानमा बन्दै आएको आरोप लगाउने गरेको छ ।

केही समययता भारत र पाकिस्तान दुवैले एक अर्कालाई सीमा क्षेत्रमा संघर्षविरामको उल्लंघन गरिरहेको आरोप लगाउदै आएका छन् ।