२६ जेठ, काठमाडौं ।

भूकम्पको सबैभन्दा बढी जोखिम क्षेत्र काठमाडौँ उपत्यका रहेको छ ।

काठमाडौँ उपत्यकामा धेरै पुराना इतिहास बोकेका पुरातात्विक वस्तु र सम्पदा भएकाले भूकम्पले कुनै पनि बेला ढल्न सक्ने भएकाले जोखिममा रहेको राष्ट्रिय भूकम्प प्रविधि केन्द्र (एनसेट) का प्रतिनिधि सूर्यभक्त साँगाछे बताउछन् ।

उनले काठमाडौँ उपत्यकाको ३० प्रतिशत घरमा मात्र दमकल र एम्बुलेन्स जान सक्ने र बाँकी ७० प्रतिशत घरमा सानो गल्ली भएर जानुपर्ने भएकाले विपद्को बेलामा धेरै मानिस ज्यान जाने तथा घाइते हुने गरेको बताए । उपत्यकामा सानो जग्गामा अग्ला घर बनाउने गरेकाले भूकम्पमा धेरै घर भत्कने गरेको उनले बताए ।
Tudekhel - google map - after earthquakeनेकपा (एमाले) काठमाडौँ क्षेत्र नं ७ ले आज यहाँ आयोजना गरेको ‘भूकम्पपछि भित्री सहरको अवस्था र राज्यको दायित्व’ विषयक अन्तक्र्रियामा वर्तमान अवस्थामा सहरी पुर्ननिर्माण, प्राकृतिक प्रकोप जोखिम, सम्पदाको संरक्षण अहिलेको टट्कारो आवश्यकता भएको बताए ।

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले वर्तमान अवस्थामा पर्यावरणमैत्री सुरक्षित बासस्थानको आवश्यकता रहेको भन्दै संरचना जोगाउन बहुपक्षीय तरिकाले सोच्नु आवश्यक रहेको बताए ।

उनले भने, “भूकम्पको जोखिम कम गर्न उपयोग नीति, बस्ती निर्माणको नीति र भवनको नीति स्पष्ट हुनुपर्छ ।”

एमालेका सचिव गोकर्ण विष्टले अहिले भूकम्पले देशमा आएको सङ्कटलाई अवसरका रुपमा बदल्नुपर्ने बताए । उनले घना बस्ती भएको क्षेत्रमा एउटा घर भत्काउँदा अर्को घर भत्कने समस्या भएकाले यसलाई अध्ययन गर्नु आवश्यक रहेको बताए ।

(एमाले)का पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले नेकपा (एमाले)को स्वयम्सेवक कार्यक्रमले आकाशमुनि भएकालाई छानोमुनि लैजान मद्दत पु-याएको बताए । आगामी दिनमा (एमाले)ले सहरभित्र सरसफाइ गर्नुका साथै नयाँ बनाएका विद्यालयका भवन हस्तान्तरण गर्ने ज्वालाले बताए ।

काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भूकम्पले प्रभावित पारेको काठमाडौँ महानगरपालिकाका भौतिक वस्तुलाई अन्यन्त्र सार्नेबारे पुरातत्व विभागलगायतका निकायसँग छलफल भइरहेको बताए । तामाङले यसका लागि अस्थायी सामुदायिक भवन निर्माण गर्ने योजना रहेको बताए ।

नेकपा (एमाले)को राष्ट्रिय स्वयम्सेवक परिचालनअन्तर्गत काठमाडौँ क्षेत्र नं ७ मा ११६ घर निर्माण गर्नुका साथै एक सयभन्दा बढी घरको भग्नावशेष हटाइसकेको छ ।