१२ भदौ, गोरखाबजार।

हालै गएको भूकम्पपछि गोरखाका ३६ विद्यालय अन्य छिमेकी विद्यालयमा गाभिएका छन् । विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई धेरै विद्यार्थी भएको छिमेकी विद्यालयमा गाभिएको छ ।

साथै शिक्षकलाई पनि छिमेकी विद्यालयमा सरुवा गरिएको जिल्ला शिक्षा अधिकारी हरिप्रसाद अर्यालले बताउनुभयो ।

“विद्यार्थी सङ्ख्या कम भएका विद्यालयमा भूकम्पपछि अस्थायी टहरो निर्माण पनि गरिएन”, अर्यालले भन्नुभयो, “विद्यार्थी र शिक्षकलाई छिमेकी विद्यालयमा सिफ्ट गरियो ।” छत्तीस विद्यालयमा पढाउदै आएका ६८ जना शिक्षकलाई छिमेकी विद्यालयमा सरुवा गरिएको कार्यालयले जनाएको छ ।

अनावश्यक ठाउँमा पनि विद्यालय सञ्चालनमा आएकाले केही अवधिपछि विद्यालय खाली भएको अर्यालको भनाइ छ । जनसङ्ख्या कम भएका क्षेत्रमा सञ्चालनमा रहेका विद्यालय खारेज गरेर त्यहाँको दरबन्दी नजिकको छिमेकी विद्यालयमा गाभिएको छ । “विद्यालय धेरै, विद्यार्थी कम भएपछि शिक्षामा उपलब्धि घट्यो”, जिशिअ अर्यालले भन्नुभयो ।

शिक्षा मन्त्रालयको विद्यालय समायोजन नीति २०७० मा टेकेर विद्यालय समायोजन गरिएको हो । सरकारी विद्यालयमा अभिभावकको र शिक्षाप्रेमीको चासो घट्दै गएकाले गुणस्तर उकास्न समस्या देखिएको हो । रासस