५ असार, काठमाडौं ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको दोस्रो किस्ताका लागि भूकम्पप्रभावित १४ जिल्लामा पठाएको १७ अर्ब ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ । पहिलो किस्ता लिएका पीडितले घर नबनाउँदा दोस्रो किस्ताको रकम वितरण हुन नसकेको हो ।

प्राधिकरणका अनुसार पाँच लाख ६७ हजार ४४२ पीडितले पहिलो किस्ता लगेका छन् । तर, दोस्रो किस्ताको रकम लैजानेको संख्या २५ हजार २ सय २८ मात्रै छ । पहिलो किस्ता लैजानेको तुलनामा ४.४४ प्रतिशत भूकम्पपीडितले मात्रै दोस्रो किस्ताबापतको रकम लगेका छन् । जसका कारण दोस्रो किस्ताका लागि निकासा गरिएको रकम अहिले जिल्लाका बैंकमा थन्किन पुगेको छ ।

प्राधिकरणले भूकम्पपीडितको अनुदानका लागि अहिलेसम्म ५० अर्ब २७ करोड ११ लाख रुपैयाँ निकासा गरेको छ । त्यसमध्ये पहिलो, दोस्रो र तेस्रो किस्तामा ३२ अर्ब ३० करोड ५९ लाख रुपैयाँ मात्रै बाँडिएको छ ।

यसकारण बनेन घर

पुनर्निर्माण प्राधिकरणका अनुसार पहिलो किस्ता लिएर गएका भूकम्पपीडितले घर नै नबनाउँदा दोस्रो किस्ताको रकम वितरण गर्न नसकिएको हो । झन्झटिलो कार्यविधि, अपर्याप्त रकम र कालीगढ कमी भएपछि पीडितले घर बनाउन चासो नदेखाएको प्राधिकरणले जनाएको छ । ‘पहिलो किस्ताबापतको अनुदान रकम पाउन जति सजिलो छ, दोस्रो किस्ता पाउन गाह्रो छ । यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्छ,’ पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भने, ‘घर बनाएका भूकम्पपीडितले मापदण्ड पूरा गर्न सकेनन् ।’

पैसा कम भएकाले घर बन्न नसकेको उनले बताए । ‘गाउँमा तीन लाखले घर बन्दैन । थप खर्च गर्न सकिए मात्रै घर बन्छ । तर, गाउँका सबै पीडितसँग घर बनाउने पर्याप्त रकम छैन । कालीगढको कमीले पनि पीडितले घर बनाउन सकेका छैनन्,’ उनले भने । आजको नयाँ पत्रिकामा खबर छ ।