३० कात्तिक, काठमाडौं ।

नेपाल हस्तकला महासंघको आयोजनामा मंसिरको पहिलो साता बृहत १५ औं हस्तकला व्यापार मेला तथा १३ औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी आयोजना हुने भएको छ ।

व्यवसायीहरुलाई एकत्रित गराई संगठित रुपबाट ब्यापार मेलाको आयोजना गर्ने अग्रणी संस्थाहरु मध्येमा नेपाल हस्तकला महासंघले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे उक्त मेला मंसिर एक गतेदेखि ५ गते सम्म आयोजना गर्ने जनाएको हो ।

५ दिनसम्म चल्ने उक्त मेला प्रर्दशनी हल, भृकुटीमण्डप, काठमाडौंमा आयोजना गरिने आयोजकले जनाएको छ । आयोजना र नेपाल सरकार वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा वार्षिक क्यालेण्डर घटनाको रुपमा महासंघले विशेष रुपमा आयोजना हुने जनाएको छ । मेलामा ९ प्याभिलियन सहित २ सय स्टल रहने छन् ।

मेलामा प्याभिलियनका रुपमा नेपाल भित्र महासंघका विभिन्न भौगोलिक क्षेत्रमा रहेका जिल्ला हस्तकला संघहरु, बस्तुगत संघहरुको साथै ती संघमा आवद्ध करिव २५ वटा जिल्लाका उद्यमी ब्यवसायीहरुको सहभागीता हुने महासंघका अध्यक्ष धर्मरत्न शाक्यले जानकारी दिए ।मेलामा धातु मूर्तिकला तथा धातुजन्य सामान, चाँदीका गरगहना तथा सामान, पश्मिना, सूती एवं ढाकाका सामान, हाते कागजका सामान, काष्ठकला, प्रस्तरकला, छालाजन्य वस्तु लगायत नेपाल भित्र उत्पादन हुने विविध किसिमका स्थानीय हस्तकलाका वस्तुहरुको सहभागिता जनाएको छ ।

हस्तकला व्यवसायको विकास विस्तार तथा प्रबद्र्धन गर्न तथा हस्तकलाको आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले २०४८ साल देखि हालसम्म १४ पटक ब्यापार मेला आयोजना भइसकेको आयोजकले जनाएको छ ।