८ असार, काठमाडौं ।

दोस्रो चरणको स्थानीय तहको चुनाव आउन ६ दिन मात्रै बाँकी छँदा दलहरुले प्रचार प्रसार तिब्र पारेका छन् । पार्टीका शीर्ष नेताहरु समेत जिल्लामा गएर चुनावी अभियानमा जुटेका छन् ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोली धनगढी जाँदै छन् । त्यहाँ हुने चुनावी सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनाव प्रचारकै क्रममा चार दिनदेखि गृह जिल्ला झापामा छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आज गौरादह, भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बाँके र बर्दिया जाँदछन् । उनले बाँकेको खजुरा, नेपालगंज र कोहलपुर तथा बर्दियाको बारबर्दिया नगरपालिकामा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले हिजो उदयपुरका विभिन्न ठाउँमा आयोजित चुनावीसभालाई सम्बोधन गरेका थिए ।

राप्रपाका अध्यक्ष कमल थापा पनि चुनावी सभालाई सम्बोधन गर्न आज उदयपुर जाँदै छन् । उनले दिउँसो गाईघाटमा हुने सभालाई थापाले सम्बोधन गर्ने र सिराहामा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको राप्रपाका सहप्रवक्ता राजाराम बर्तौलाले जानकारी दिए ।

मतदान गर्ने मिति असार १४ को ४८ घण्टा अघिदेखि मौन अवधि सुरु हुने भएकाले अब प्रचारप्रसारका लागि उमेद्बारहरुसँग ४ दिन मात्रै बाँकी छ । यो छोटो अवधिलाई सकेसम्म प्रभावकारी बनाउन र मतदातालाई आफू तिर आर्कसित गर्न दलका शिर्ष नेताहरुले कम्मर कसेर लागेका छन् ।