२८ साउन, बनेपा । काभ्रेपलाञ्चोकको स्थानीय तहमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन भीड लाग्न थालेको छ ।

सात गाउँपालिका र ६ नगरपालिकामा आठ दिनको अवधिमा ६ हजार ७२ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका छन् ।

उनीहरुले गत १६ गतेदेखि २३ गतेसम्म स्थानीय तहमा पुगेर नाम दर्ता गराएका हुन । नाम दर्ता गराएकामध्ये तीन हजार ३५ महिला र तीन हजार ३७ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो सँगै जिल्लाबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या साउनयता कुल १२ हजार ९३२ पुगेको छ । यसअघि जिल्ला निर्वाचन कार्यालय, धुलिखेलबाट मात्रै ६ हजार ८६० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

काभ्रेपलाञ्चोकका निर्वाचन अधिकारी मधुकर पोखरेलले स्थानीय तहमा पनि फोटोसहितको मतदाता नामावलीको लागि भीड बढेको जानकारी दिँदै स्थानीय तहले कर्मचारी व्यवस्थापन गरेर फोटोसहितको मतदाता नामावली संकलन भएको बताए ।

१६ वर्ष उमेर पुगेका सबै नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने तर मतदान गर्न १८ वर्ष उमेरको हुनुपर्ने कानूनी प्रावधान छ ।

यसअघि जिल्लामा कूल दुई लाख ३० हजार ८४९ मतदाता रहेका थिए । स्थानीय तहमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनुका साथै सच्चाउनसमेत स्थानीयवासीको भीड लागेको छ । रासस