एजेन्सी । भोट खसाल्ने बाकस अर्थात मतपेटिकामा मतदाताले एउटा चिठ्ठी लेखेर खसालेपछि त्यो चिठी सामाजिक सञ्जालमा भाइरल भएको छ । यो दक्षिण भारतीय राज्यको प्रसङ्ग हो । चिठीले मात्रै भन्दा नि त्यसमा उल्लेख गरिएको विषयवस्तुले पनि मानिसको ध्यान खिचेको छ ।

तेलंगना मंडल चुनावका बेला एक मतदाताले भोट खसाल्ने बाकसमा मुख्यमन्त्रीसँग बियर उपलब्ध गराउन माग गर्दै लेखेको चिठ्ठी खसालेपछि त्यहि चिठी भाइरल भएको हो । यो भाइरल चिठ्ठी तेलंगना राज्यको जगित्याल जिल्लाको हो । तर सामाजिक सञ्जालमा यसलाई करीमनगर जिल्लाको घटना बनाएर पनि शेयर गरिएको बीबीसीले जनाएको छ ।

एउटा सामान्य कापीको पानामा लेखिएको चिठ्ठीमा ६ मे २०१९ तारिख लेखिएको छ । चिठ्ठीमा लेखिएको छ, ‘हाम्रो जिल्लामा किंगफिसर बियरको स्टक सकिएको छ । त्यसकारण हाम्रो जिल्लाका मानिसलाई बियर लिनका लागि अर्को जिल्लामा जानुपर्ने बाध्यता छ । त्यसैले यो बियर हाम्रो जिल्लामा पनि उपब्ध गराइदिनुस् ।’चुनावको मतगणनाका क्रममा निर्वाचन अधिकारीहरुले यो पत्र फेला पारेको बताइएको छ ।

चिठ्ठीको बास्तविकता

चिठ्ठी भोटिङ बक्समा खसालिएको भनिएको छ । तर चिठ्ठी हेर्दा कतैपनि पट्याएजस्तो देखिँदैन । यो चिठ्ठी कापीसँगै जोडिएको छ र पट्याएको जस्तो पनि देखिँदैन । तेलंगना चुनाव आयोगका सचिव एम अशोक कुमारले मंडल चुनावको बाकस जिल्लास्तरका अधिकारीका अगाडि खोलिने र त्यस्तो कुनै पनि प्रकारको चिठ्ठी नभेटिएको बताए ।

जगित्याल जिल्लाका जाइन्ट कलेक्टर बी राजेसमले मतगणनाका क्रममा मतपेटिकामा एउटा चिठ्ठी भेटिएको थियो । चिठ्ठीमा स्थानीय एक नागरिकले प्रशासनसँग आप्नो क्षेत्रमा रोड बनाउन माग गरेका थिए । उनले भनेका छन् तर यो बियर मागेको भन्ने चाहिँ झुठो कुरा हो ।