२८ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहीदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न परिवर्तनकारी पार्टीका पक्षमा मतदान गर्न आव्हान गरेका छन् ।

सप्तरी जिल्लाको शम्भूनाथ नगरपालिकास्थित खोकसर परवाहामा निर्माण गरिएको सहीद गोविन्द चौधरी (दीपु) को शालिक अनावरण गरेपछि सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

गोविन्द चौधरीको २०६४ साल असार ९ गते मधेश आन्दोलनका क्रममा मृत्यु भएको थियो । अध्यक्ष प्रचण्डले सहीद गोविन्दका आमासँगसमेत भेट गरे । सहीदको शालिक अनावरणपछि स्थानीय जनसमुदायलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्द र मधेशलगायत अन्य आन्दोलनमा सहीद हुनु भएका हजारौ नेपालीहरूको रगतको बलिदानले अहिलेको उपलब्धि हासिल भएको बताए ।

“हजारौको सहादतले गणतंत्र नेपालको स्थापना भाएको छ । स्थानीय जनताले आफ्नो सरकार आफू चुन्न सक्ने अवस्था सिर्जना भएको छ । ‘प्रचण्डले भने, “तर अझै धेरै गर्न बाँकी छ । परिवर्तनका उपलब्धिहरू संस्थागत गर्ने चुनौती छ ।’

अध्यक्ष प्रचण्डले सहीदको बलिदान खेर नजाने र सहीदका सपना पूरा नभएसम्म आफु लडिरहने बताए ।