२६ पुस, काठमाडौँ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विजयकुमार गच्छदारले अहिलेको सात प्रदेशलाई बढाएर आठ प्रदेश बनाउने र मधेसमा तीन प्रदेश निर्माण गरिए अहिलको समस्या समाधान हुने बताएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

मधेसी जन अधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्षसमेत रहेका गच्छदारले आज मन्त्रालयमा रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र उदयपुरको छुट्टै प्रदेश निर्माण गरिनुपर्ने तथा पश्चिममा कैलालीको केही भाग टुक्र्याएर बर्दियासँगको प्रदेशमा जोड्नुपर्ने बताए ।

उनले भने– “मैले संविधान निर्माणअघि नै ल्याएको आठ प्रदेशको अवधारणा स्वीकार नगरिएकै कारण अहिले समस्या आएकोे छ, प्रमुख दलका नेता अहिले तपाइँले त्यो बेला ल्याएको प्रस्ताव ठीक रहेछ भन्न थाल्नुभएको छ ।”

उनले भने– “म पनि मोरङ, सुनसरीको मान्छे हो, ती जिल्ला जनताले दुई नम्बर प्रदेशमा जान चाहेका छैनन्, ती जिल्ला चाहियो भनेर धनुषा र सर्लाहीले आन्दोलन गर्नुको अर्थ छैन ।”

उपप्रधानमन्त्री गच्छदारले देश विकासमा सबै पक्षको सहकार्य र एकता आवश्यक रहेको बताउँदै वार्ता र सहमतिबाटै तराई–मधेसको आन्दोलन सम्बोधन गरिनुपर्नेमा जोड दिए ।

आफूले सधैँ मध्यमार्गी भूमिका खेलिरहेको स्वीकार गर्दै उनले त्यसो गर्दा आफ्नो आलोचना भए पनि नडराउने प्रष्ट पारे ।

अर्को प्रसङ्गमा उनले सरकार निर्माणका क्रममा सत्तारुढ दलसँग आफ्नो पार्टीका तर्फबाट भएका आठबुँदे सम्झौतामध्ये सीमाङ्कनबाहेक अन्य बुँदा कार्यान्वयनका क्रममा गइसकेकोे जानकारी दिए ।

अहिलको समस्या यो सरकार निर्माणपछिको समस्या नभएर पहिलेकै समस्या भएको बताउँदै उनले आफ्नो पार्टी सरकारबाट बाहिरिने कुनै सम्भावना नभएको स्पष्ट पारे ।

मोदीलाई ऋषि मन बनाउन आग्रह

उपप्रधानमन्त्री गच्छदारले अहिले भारतबाट आपूर्तिमा देखिएको असहजताका कारण नेपालीले कठिनाइ भोग्नुपरेको बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ऋषि मन बनाएर नेपाललाई सहयोग गर्न आग्रह गरे ।

उनले भने– “नेपालमा मोदी आउँदा नेताहरुलाई ऋषि मन बनाउनुपर्छ भन्नुभएको थियो, अहिले मोदीजीलाई ऋषि मन बनाउन मेरो आग्रह पुर्याइदिन सञ्चारकर्मीलाई आग्रह गर्दछु । ”

उनले भारतजस्तो ठूलो देशले छिमेकी देशलाई ठूलै हृदय बनाएर सहयोग गर्नुपर्ने धारणा राखे । उनले चीन र भारतसँग नेपालले समदुरीको सम्बन्ध राखेर अगाडि बढ्नुको विकल्प नभएकामा समेत जोड दिए । रासस

यो पनि पढ्नुस्

राहत वितरण र पुनःनिर्माणमा कुनै पनि कसर बाँकी राखिँदैन – प्रधानमन्त्री ओली

अब सबैको घरघरमा खानेपानीको धाराःमन्त्री सिंह

गृह मन्त्री वस्तेतलाई कार्यदलको बैठकमा बोलाइयो

बाणिज्य विभागले भन्यो- पेट्रोलियम पदार्थको कालो बजारी अनुगमन गर्न सक्दिन