७ साउन, नयाँ दिल्ली ।

भारतीय जनता पार्टी (भाजपा)ले नेपालको राष्ट्रिय जनता पार्टी (राजपा)लाई २ असोजको स्थानीय निर्वाचनमा सहभागी हुन सुझाब दिएको छ । उसले मधेस समस्या समाधानको प्रयास गर्न सत्तारुढसहित प्रमुख दलहरूलाई पनि आग्रह गरेको छ । स्थानीय तह अधिकारसम्पन्न हुँदा नेपालको स्थायित्वमा सहयोग पुर्याउने र त्यो भारतको दीर्घकालीन हितमा पनि हुने उसले बताएको छ ।

‘हाम्रो राजनीतिक नेतृत्वले नजिकको शुभेच्छुकका नाताले मधेसीदेखि सबैसँग भनेको छ कि स्थानीय तहले अधिकार पाउनुपर्छ, यसका लागि मधेसी दलहरू पनि स्थानीय निर्वाचनमा सहभागी हुनुपर्छ,’ भारतीय जनता पार्टीका पूर्वउपाध्यक्ष भगतसिंह कोस्यारीले नयाँ पत्रिकासँग भने । स्थानीय चुनावले लोकतन्त्र सुदृढ हुने र स्थिरताका लागि सहयोग पुर्याउने भारतको निष्कर्ष रहेको र यो भारतको बृहत्तर हितमा पनि रहेको उनको भनाइ छ । ‘हामीले स्थानीय निर्वाचनमा दायाँबायाँ नगरी सहभागी हुन मधेसी दलहरूलाई भनेका छौँ र समस्या समाधानका लागि निरन्तर प्रयत्न गर्न बाँकी दलहरूलाई पनि आग्रह गरेका छौँ,’ उनले भने । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रदेश र संघमा छलफल गर्ने ठाउँ छ : कोस्यारी
कोस्यारीले मधेसका समस्याबारे प्रदेश र संसदीय निर्वाचनका वेला छलफल गर्ने ठाउँ रहेको, तर स्थानीय तहसँग त्यो सम्बन्धित नरहेको भारतीय बुझाइ रहेको बताए । ‘भोलि प्रान्त र संसदीय चुनावका वेला आफ्ना विषय उठाए भइहाल्यो, स्थानीय तहसँग त्यसको के लेनादेना छ ?’ उनले भने, ‘असन्तुष्टि समाधान गर्दै जानुपर्ला, तर त्यो भनेर जनताले अधिकार पाउने लोकतान्त्रिक प्रक्रिया रोक्नुहुँदैन । यसलाई कसैले पनि इगो वा प्रतिष्ठाको विषय नबनाई स्थानीय चुनावमा जानुपर्छ । स्थानीय तहको चुनाव गराउनुस्, अरू लडाइँ गर्नुछ वा केही गर्नुछ भने उपयुक्त समयमा गर्नुस् ।’

‘दोकलामले नेपाल–भारत सम्बन्धमा फरक पर्दैन’
भारत, चीन र भुटानबीचको त्रिदेशीय बिन्दु दोकलाममा बढेको विवादले नेपालसँग भारतको सम्बन्ध प्रभावित नहुने कोस्यारीले बताए । नेपालले चीनसँग गरेका सन्धि–सम्झौता कार्यान्वयनमा भारत बाधा नहुने उनको भनाइ छ । ‘नेपाल सार्वभौम मुलुक हो । हामी नेपाललाई यो गर, त्यो नगर भन्न सक्दैनौँ । चीनसँग कुरा नगर, भारतसँग मात्रै गर भन्न हामी चाहँदैनौँ,’ कोस्यारीले भने, ‘चीनसँगको विवादले नेपालसँग हाम्रो सम्बन्धमा फरक पर्दैन । हामी हाम्रो चिन्ता गर्छौँ । सार्वभौम नेपालले चीनसँग गर्ने सन्धि–सम्झौता उसको काम हो, यो हाम्रो मामिला होइन । त्यसले नेपाल र भारतको पम्परागत सम्बन्धमा केही फरक पर्नेवाला छैन ।’

नेपाल र भारतबीच अहिले कुनै समस्या नरहेको उनको विश्लेषण छ । ‘ब्लड इज थिंकर द्यान वाटर भनेजस्तो छ नेपाल–भारत सम्बन्ध । सबै गंगा, काली, कोसीका पुत्र हुन् । बीचबीचमा उत्पन्न विमति समाधान हुँदै गएका छन् । अहिले हाम्रो समझदारीमा कुनै समस्या छैन,’ कोस्यारीले भने ।

देउवालाई अतिरिक्त व्यवहार हुँदैन
कोस्यारीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतले अतिरिक्त व्यवहार नगर्ने बताए । ‘उनको के सन्देश हो, उनलाई के सन्देश हो, कूटनीतिक मामिला हेर्नेहरूले यसमाथि काम गरिरहेका छन्,’ कोस्यारीले भने, ‘हाम्रा लागि प्रचण्डजी, ओलीजी, देउवाजी सबै मित्र हुन् । अरूको भन्दा बेग्लै देउवालाई अतिरिक्त व्यवहार हामी गर्दैनौँ, सबै मित्र हुन् ।’ देउवाको भ्रमण १ देखि ३ भदौसम्म हुने गरी गृहकार्य भइरहेको छ ।

‘बंगालले स्वीकार गरे गोर्खाल्यान्ड’
भाजपाको लोकसभाका सांसदसमेत रहेका कोस्यारीले पश्चिम बंगाल सरकारले स्वीकार गरेमा केन्द्र सरकारले क्षणभरमै गोर्खाल्यान्ड राज्य अनुमोदन गर्ने पनि बताए । तर, यसलाई नेपालको समस्यासँग जोड्नु नहुने उनको भनाइ छ । ‘पश्चिम बंगाल सरकारले आजै पास गरेर बेग्लै राज्य बनाउन सहमति दिन्छ भने केन्द्र सरकारले त्यसलाई अनुमोदन गरिदिन्छ र गोर्खाल्यान्डका लागि बाटो खुला गरिदिन्छ । यसमा केन्द्र सरकारलाई समस्या छैन,’ कोस्यारीले भने, ‘बंगाल सरकारले लेखेर दिँदैन भने हामीले के गर्न सक्छौँ ? यो बंगाल सरकारका कारण समस्या आइरहेको छ ।’

‘इपिजी गैरसरकारी समूह’
कोस्यारीले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) सरकारद्वारा मान्यताप्राप्त गैरसरकारी समूह भएको भन्दै यसको प्रतिवेदन कार्यान्वयन गर्ने–नगर्ने सरकारको हातमा रहेको बताए । ‘यो समूहले भारत र नेपालका हितबारे चिन्ता चासो व्यक्त गरिरहेको छ । दुवै सरकारले विश्वास गरेर समिति बनाएका छन् । सरकारको विश्वासमा हामी आँच आउन दिनेछैनौँ । कार्यान्वयन गर्ने कि नगर्ने भन्ने सरकारको कुरा हो,’ कोस्यारीले प्रस्ट्याए, ‘हामी जुन सौहार्दपूर्ण वातावरणमा कुराकानी गरिरहेका छौँ, सहमतिको बिन्दुमा पुग्छौँ । सरकारले आत्मसात् गर्नेछ भन्ने मलाई लाग्छ ।’