१५ चैत, काठमाडौं । मधेसकेन्द्रीत दलहरुले कुनै निर्वाचन हुन नदिने दाबी गरिरहेका बेला पर्सा सदरमुकाम वीरगञ्जको मुख्य बजारमा मत माग्ने स्थानीय नेता–कार्यकर्ताको लर्को भेटिएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनताका लागि अति आवश्यक स्थानीय तह निर्वाचनको विरोध गरेपछि संविधानसभा निर्वाचनमा उनीहरुलाई सघाएका स्थानीय युवाहरुले स्वतन्त्र उम्मेदवार बन्ने जनाउँदै भोट माग्न थालेका हुन् ।

संविधानसभा निर्वाचनमा तमलोपलाई सघाएका युवाहरु वीरगञ्ज–१२ निवासी मनोज कलबारको अगुवाइमा साविकको वीरगञ्ज उपमहानगरपालिका–१२ (हालको वडा नम्वर ९) स्थित वीरगञ्जको मुख्य बजारका पसल–पसलमा पुगेर भोट मागेका हुन् ।

सोमबार दिउँसो उनीहरुले पसलपसलमा पुगेर मत मागेका थिए । अहिले कुनै पार्टीबाट नभए पनि स्वतन्त्र रुपमा जनतासामु भेटघाट गर्न थालेको कलवारले बताए । आजको राजधानी दैनिकमा खवर छ ।