१३ मंसिर, काठमाडौं ।

तराईमा जारी आन्दोलनका कारण एसएलसी दिने विद्यार्थी अन्यौलमा परेका छन् । जारी आन्दोलनका कारण पठनपाठन नहुँदा कोर्ष नसकिने सम्भावना बढेको छ भने परीक्षा तालिका सार्वजनिक गर्न सकएकिो छैन् ।

मधेस आन्दोलनबाट १३ लाख विद्यार्थी प्रभावित
मधेसी मोर्चाको जारी आन्दोलनका कारण बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिरहामा गरी करिब १३ लाख विद्यार्थी प्रभावित बनेका छन् । मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक कृष्ण काप्रीका अनुसार यी जिल्लाबाट झन्डै एक लाखको हाराहारीमा विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुँदै छन् ।

SLC Feature 4

तराई–मधेसमा एसएलसी सार्न सुझाब
तराईका आठ जिल्लाका सरोकारवालाले एसएलसी परीक्षा केही समय पछि सार्न सुझाब दिएका छन् । हालै महोत्तरीमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा भएको शैक्षिक अन्तरक्रियामा धनुषा, महोत्तरी, सर्लाही, बारालगायतबाट उपस्थित शिक्षक संघ–संगठनका प्रतिनिधिले परीक्षा सार्न सुझाब दिएका हुन् ।

एसएलसीको तालिका तत्काल सार्वजनिक नहुने
शिक्षा मन्त्रालयले एसएलसी परीक्षासम्बन्धी सूचना केही समय प्रकाशित नगर्न परीक्षा नियन्त्रण कार्यालयलाई अनौपचारिक आग्रह गरेको छ । मन्त्रालयको आग्रहपछि परीक्षा नियन्त्रण कार्यालयले सूचना स्थगित गरेको छ । पनिकाले चैत पहिलो साता परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गर्न लागेको थियो ।

अतिरिक्त समय पढाएर भए पनि परीक्षा
शिक्षा नियमावलीअनुसार एक शैक्षिक सत्रमा दुई सय २० दिन विद्यालय खुल्नुपर्ने र एक सय ९२ दिन पढाइ हुनुपर्ने व्यवस्था छ । भूकम्पका वेला अति प्रभावित जिल्लामा केही समय पढाइ प्रभावित भयो । तराईका जिल्लामा भने झन्डै तीन महिना पढाइ अवरुद्ध भयो । गत शुक्रबारदेखि बिहान साढे ६ देखि साढे ११ बजेसम्म कक्षा सञ्चालन भए पनि जाडोका कारण प्रभावित हुनेछ । अहिलेको परिस्थितिमा कक्षा सञ्चालनको दिन नपुगे अतिरिक्त समय पढाएर परीक्षा लिन सकिने सुझाब सरोकारवाला पक्षको छ । सरकार पनि बिदाको दिनमा पढाउने, रेडियो र टेलिभिजनबाट समेत एसएलसी सामग्री प्रसारण गर्ने, तर परीक्षा नसार्ने पक्षमा छ ।

चैत अन्तिम साता एसएलसी परीक्षाको तयारी
एसएलसी परीक्षा कहिले गर्ने भन्नेबारे शिक्षा मन्त्रालय र परीक्षा नियन्त्रण कार्यालयका अधिकारी छलफलमा छन् । परीक्षा सारेर नतिजा छिटो निकाल्दा शैक्षिक वर्ष नोक्सान नहुने तर्क मन्त्रालयको छ । अहिलेको भन्दा खराब परिस्थिति नआएमा शैक्षिक सत्र नोक्सान नगर्ने पक्षमा सरकार छ । आन्दोलन चाँडै टुंगिए चैतको अन्तिम साता परीक्षा गर्ने तयारी रहेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

शैक्षिक सत्र परिवर्तन हुन्न : शिक्षामन्त्री
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एक वर्षको शैक्षिक क्षति हुन नदिने बताएका छन् । ‘युवाहरूको भविष्यसँग गाँसिएको शैक्षिक सत्र परिवर्तन हुँदैन, आन्तरिक रूपमा छलफल गरेर एसएलसीको विषयमा निर्णय हुन्छ,’ उनले भने ।